September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

कपिलवस्तुमा राखिएका ६ शवमध्ये एकको सनाखत

Advertisement

कपिलवस्तु– रसुवाको भोटकोशी बाढीले बगाएर पश्चिम नवलपरासीस्थित नारायणी किनारमा ल्याएका शव मध्ये ६ वटा कपिलवस्तु जिल्ला अस्पतालमा राखिएको छ । पहिचान खुल्न नसकेर यहाँ राखिएका ६ शबमध्ये एकको सोमबार सनाखत भएको छ ।

Advertisement

प्रहरीका अनुसार सनाखत भएको शवमा ‘लाश नं. १२ कोड’ दिइएका पुरुष रहेका छन् । काभ्रेपलान्चोकको रोसी–९, बस्ने वर्ष ३८ का संखबुद्ध तामाङको शव उनका दाजु कर्मध्वजले सनाखत गरेका हुन् । उनको शव लगेर परिवार फर्किसकेका छन् । प्रहरीले वेभसाइडमा राखेको र काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा टाँसिएको फोटो हेरेर कर्मध्वजले शव पहिचान गरेका थिए ।

नुवाकोट विदुर नगरपालिका–१०, बेत्रावती बजारमा होटल तथा किराना पसल सञ्चालन गरिरहेका तामाङलाई बाढीले बगाएको थियो । फोटो हेरेर शव राखिएको ठाउँ नजिककोे इलाका प्रहरी कार्यालय, पिपराको नम्बरमा सम्पर्क गरेर आफन्तले बुझेका थिए । प्रहरीले मृतकको थप फोटो खिचेर शव गृहबाट पठाएर उनका आफन्तले पुष्टी गरेपछि उनीहरु आएका थिए ।

भाईको तालु खुइलिइएको, दाहिने हातको साइली औंलामा बेरुवा आंैठी लगाएको, लिंङको छेउमा छालाको शल्यक्रिया गरेको र हातको एउटा औंलामा नयाँ नङ पलाएको आधार, प्रमाण र चिन्हका आधारमा शव पहिचान थप सजिलो भएको इलाका प्रहरी कार्यालय पिपरा निरीक्षक अर्जुन पौडेलले बताए ।

मृतकका दाजुले उनको दाहसंस्कार काठमाडौंको स्वयम्भुमा गर्ने भनेर शव एम्बुलेन्समा लिएर गएका उनले बताए । शवको पोष्ठमार्टम पिपरा अस्पतालमा गरिएको थियो । मृतक ९–१० वर्ष अघि घरबाट ब्यापार ब्यवसायका सिलसिलामा बेत्रावती गई उतै विवाह गरेर बसेका थिए । गत भदौं १० गतेको बाढीमा बेपत्ता भएकाको शव भाद्र ११ गते पश्चिम नवलपरासीको त्रिवेणीमा फेला पर्न थालेको थियो । शव राख्ने ठाउँ अभाव भएपछि त्यहाँबाट ६ जनाको शव ११ गते पिपरा अस्पताल ल्याएर राखिएको थियो ।

त्यस्तैमध्ये लाश नं.९ पुरुषको उमेर नखुलेको, लाश नं. ११ महिला उमेर अन्दाजी २८–३० बर्षकी, लाश नं. १३ पुरुष उमेर अन्दाजी ४८–५० बर्ष, लाश नं. १४ महिला उमेर अन्दाजी २८–३० बर्षको र लाश नं. १५ बालिका, उमेर अन्दाजी ५–६ बर्षकीको शवको पहिचान अझै खुल्न नसकेको जिल्ला प्रहरी प्रबत्ता डीएसपी रिपेन्द्र सिंहले बताए ।