रोटरी सेन्ट्रल लुम्बिनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख एक हजार सहयोग


भैरहवा– विपद्को समयमा पीडित नागरिकसँग ऐक्यबद्धता जनाउँदै रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले नेपाल सरकारको राहत तथा उद्धार अभियानमा सहयोग गरेको छ । क्लबले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख एक हजार रुपैयाँ सहयोग गर्दै सरकारी अभियानलाई साथ दिएको हो ।
रसुवामा बुधबार भएको बाढीको विपद् परिस्थितिलाई मध्यनजर गर्दै क्लब अध्यक्ष गंगाधर भण्डारीले आकस्मिक बैठक आह्वान गरी तत्काल राहत प्रयासमा क्लबको तर्फबाट सहयोग गर्ने प्रस्ताव अघि सारेका थिए । उक्त प्रस्तावलाई क्लबका सम्पूर्ण सदस्यहरूले समर्थन गर्दै आफ्नो उदार योगदानमार्फत यो रकम संकलन गरी सहयोग गरिएको हो।
क्लबले विपद्को समयमा सहयोग गर्ने आफ्नो परम्परालाई यसपटक पनि निरन्तरता दिएको जनाएको छ । विनाशकारी भूकम्प, कोभिड–१९ महामारी, जाजरकोट भूकम्प लगायतका विभिन्न राष्ट्रिय विपद्का समयमा पनि क्लबले पीडितहरूको साथमा उभिँदै राहत तथा मानवीय सहयोग गर्दै आएको छ।
यसै क्रममा क्लबले आफ्नो स्पोन्सर क्लब रोटरी क्लब अफ सेन्ट्रल बाँकेद्वारा सुरु गरिएको जाजरकोट बाढी राहत कोषमा ३८ हजार रुपैयाँ समेत सहयोग जमा गरिसकेको छ।
क्लब अध्यक्ष भण्डारीले विपद्को समयमा सरकारको राहत तथा उद्धार प्रयासलाई नागरिक समाज र संघ–संस्थाको सामूहिक सहयोगले थप प्रभावकारी बनाउन सकिने बताउँदै मानवीय भावनाअनुसार पीडित समुदायको साथमा उभिनु क्लबको जिम्मेवारी भएको उल्लेख गरे ।
क्लबकाो यो पहलले विपद्को समयमा ‘म मात्र होइन, हामी सबै मिलेर’ भन्ने भावनालाई थप बलियो बनाएको छ । सदस्यहरूको सामूहिक उदारता र सेवाभावबाट गरिएको यो सहयोगले राहत तथा पुनर्स्थापनाको अभियानमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।








प्रतिकृया दिनुहोस्