बाढी प्रभावितका लागि रामग्राम नगरपालिका र बर्दघाटका पूर्वप्रमुख शर्माद्वारा आर्थिक सहयोग


पश्चिम नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले रसुवा हुँदै आएको भीषण बाढीका कारण प्रभावित भएका नागरिकहरूको राहत तथा उद्धारका लागि २ लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले उक्त बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गर्ने गरी सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
नगरप्रमुख धनपत यादवका अनुसार नगरपालिकाको आफ्नै विपद् व्यवस्थापन कोषबाट २ लाख लाख एकाउन्न हजार रुपैयाँ राष्ट्रिय विपद् व्यवस्थापन कोषमा जम्मा गरिने छ । यस सहयोगले विपद्को यस घडीमा बाढी प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका कार्यमा टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।
यता , देशमा घटेको दुःखद प्राकृतिक प्रकोपको घटनाबाट प्रभावितहरूका लागि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका पूर्व नगर प्रमुख धीरज शर्मा बस्यालले व्यक्तिगत तर्फबाट २५ हजार नगद सहयोग गरेका छन् । विपत्तिको यस कठिन घडीमा पीडितहरूलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले उनले राहत कोषमा उक्त रकम जम्मा गरेका हुन् ।
स्थानीयस्तरमा विकास र सामाजिक कार्यमा सक्रिय रहँदै आएका बस्यालको यो सहयोगले विपत्तिको समयमा राहत र उद्धारमा थप बल पुग्ने र अन्य व्यक्तिहरूलाई पनि सहयोगका लागि प्रेरित गर्ने विश्वास लिइएको छ।








प्रतिकृया दिनुहोस्