September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

यसपटक रूपन्देहीका ठूला होटलमा ‘तीज उत्सव’

Advertisement

भैरहवा– हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै जाँदा रुपन्देहीका ठूला होटलहरुले ‘तीज फेस्टिबल’ आयोजना गर्दैछन् । खासगरी तारे होटलहरुले तीजलाई उत्सव बनाउन विभिन्न प्याकेजहरु समेत सार्वजनिक गरेका छन् । यसपटक हरितालिका तीज २९ गते परेको छ । हरितालिका तीज भन्दा पहिल्यै होटलहरुले कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

Advertisement

तीज पछिल्लो समय महिनौं दिन पहिलेदेखि मनाउने गरिँदै आएको छ । होटल तथा रेष्टुरेन्टहरुमा दर खाने र रमाइलो गर्ने गरिन्छ । तीजलाई फेस्बिलका रुपमा मनाउन भैरहवास्थित चारतारे होटल मौर्यले योजना अघि सारेको छ । महिना पहिलेदेखि नै मौर्य होटलले प्रबद्र्धन गरिरहेको छ ।

‘मौर्य होटलमा तीजको उत्सव’ शीर्षक दिएर उसले प्रचारप्रसार गरिरहेको छ । ‘यसपटकको तीजमा स्वादिष्ट परिकार, संगीत, नृत्य र अविस्मरणीय क्षणहरूसँगै प्रेम, खुसी र आत्मीयताको सम्बन्धलाई अझ विशेष बनाउन हामीले मौर्य होटलमा सबैलाई निमन्त्रणा गरेका छौं’, होटलका महाप्रबन्धक ओमप्रकाश पाण्डेले भने ।

उनका अनुसार यहाँ तीज उत्सव मनाउन आउने दिदीबहिनीहरुले रुफटप स्विमिङ पुल, बहु–परिकार रेस्टुरेन्ट, आकर्षक बैंक्वेट हलको सुविधा पाउने छन् । यससँगै विभिन्न खानाका परिकारको स्वाद लिनेछन् । होटलले यसका लागि प्रतिव्यक्ति प्याकेज पनि सार्वजनिक गरेको छ । सिल्भर ९९९, गोल्ड १ हजार १९९, प्लाटिनम १ हजार ४९९ रुपैयाँ तोकेको छ । यो प्याकेज व्यक्तिले चाहेअनुसार खरिद गरी मौर्यमा रमाइलो गर्न सक्नेछन् ।

परिवार तथा साथीहरूसँग तीजको रमाइलो, विविध स्वादिष्ट परिकार, संगीत तथा नृत्य, परिवार तथा साथीहरूका लागि उत्तम र सधैँ सम्झनलायक मीठा क्षणहरू यो पटक मौर्य होटलले पस्कने महाप्रबन्धक पाण्डेले बताए । ‘परम्परा कायम राख्दै तीज मनाऔँ, सम्झनाहरू सिर्जना गरौँ, आजै आफ्नो तीज उत्सव बुक गरौं’, उनले भने ।

यस्तै, भैरहवाकै चारतारे होटल एसियन बुद्धमा पनि यसपटक तीज विशेष कार्यक्रम हुँदैछ । साथीहरूसँग रमाइलो जमघट र परिवारसँगको अविस्मरणीय तीज उत्सव होस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको होटलले जनाएको छ ।

होटलले आरामदायी जमघटका लागि विशाल बैंक्वेट हल, स्वादिष्ट तथा परम्परागत तीज विशेष परिकार, लाइभ म्युजिक तथा फोटो सुटको सुविधा उपलब्ध गराउने जनाएको छ । कर्पोरेट तीज कार्यक्रम, महिला ग्यादरिङ, साथीभाइ तथा परिवारको जमघट, ग्रुप डाइनिङ वा निजी तीज कार्यक्रम आयोजना गर्दा पनि बजेट अनुसार सुविधा उपलब्ध हुने एसियन बुद्ध होटलले जनाएको छ ।

यसैगरी भैरहवाको पाँचतारे होटल सिद्धार्थ भिलासाले पनि तीज विशेष कार्यक्रम योजना अघि सारेको छ । सिद्धार्थले तीजलाई रमणीय र उत्सवकारुपमा मनाउन आह्वान गरेको छ । सिद्धार्थका अनुसार परम्परागत तीज विशेष बुफे, प्रत्येक्ष सांगीतिक साँझ, सांस्कृतिक प्रस्तुति, तीज विशेष फोटो कर्नर, लक्की ड्र तथा विशेष उपहार र स्वागत पेयका योजना अघि सारेको छ । भिलासामा तीजको विशेष उत्सव, स्वादिष्ट परिकार, संगीत, नृत्य र मनोरञ्जनको अविस्मरणीय अनुभव लिन पाइने छ ।

यस्तै जिल्लाको तिलोत्तमास्थित पाँचतारे होटल टाइगर प्यालेस बाइ सोल्टीले पनि हिन्दु नारीहरुको महान पर्व तीजलाई लक्षित गरी ‘तीज उत्सव’ योजना अघि सारेको छ । टाइगरले विशेष हरितालिका तीज बुफे, स्वागत पेय, उत्सवमय मनोरञ्जन तथा रमाइला गतिविधिहरू, अतिथिहरूका लागि नृत्य फ्लोर र प्रत्यक्ष सांगीतिक प्रस्तुति रहने जनाएको छ । उसले प्रतिव्यक्ति दुई हजार रुपैयाँ तोकेको छ । यति मात्रै होइन्, बुटवल–भैरहवाका अधिकांश होटलले यसपटक तीज उत्सव कार्यक्रम आयोजना गर्दै छन् ।