September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

चार दिनमा रोल्पामा पहिरोले पुरिएर १९ को मृत्यु

Advertisement

रोल्पा– वर्षापछि निरन्तर पहिरो जाँदा रोल्पामा चार दिनमा १९ को मृत्यु भएको छ । पहिरोको जोखिम घटेको छैन । शुक्रबार राति पहिरोले घर पुरिँदा पूर्वी रोल्पाको लुङ्ग्री–५, धैरेनीमा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको छ । घरभित्र सुतिरहेको अवस्थामा पहिरोले घर पुरेपछि उनी च्यापिएकी थिइन् । प्रहरीको टोली घटनास्थलमा पुग्दा पुरिएको अवस्थामा वृद्ध गुरुङको टाउकोको भाग मात्रै देखिएको थियो ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका अनुसार रातभर परेको अविरल वर्षाका कारण शनिबार बिहान करिब ३ बजे पहिरो खसेको र घर पुरेको सूचना प्रहरी चौकी किलाचौरमा पुगेको थियो । प्रहरी र स्थानीयको सहयोगमा उनलाई निकालिएको थियो । शनिबार बिहान सुनिलस्मृति गाउँपालिका–६ आमडाँडामा पहिरोले एक स्थानीयको घरको एकापट्टिको भित्ता भत्काएको छ । वर्षासँगै जिल्लाका विभिन्न स्थानमा पहिरो, बाढी र चट्याङका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार एक साताको अवधिमा पहिरो र चट्याङका घटनामा १९ जनाको मृत्यु भइसकेको छ ।

यसअघि थबाङ गाउँपालिका–५ उवाको कोटलबारामा बुधबार राति पहिरो खस्दा ठूलो मानवीय क्षति भएको थियो । बस्तीमाथिबाट आएको पहिरोले १२ वटा घर पुरिँदा १३ जनाको मृत्यु भएको थियो । घटनामा पुरिएकामध्ये एक जनाको शव अझै फेला परेको छैन । सुनछहरी गाउँपालिका–२ फलबाङ र गिच्चे मङ्ङारु टोलमा पहिरोले छुट्टाछुट्टै २ वटा घर पुरिँदा ४ जनाको ज्यान गएको थियो । यस्तै लुंग्रीमा चट्याङबाट एक जनाको ज्यान गएको थियो । वर्षा र चट्याङले अकल्पनीय मानवीय क्षति भएको प्रमुख जिल्ला अधिकारी गंगबहादुर क्षत्रीले बताए ।

लगातारको वर्षाका कारण जिल्लाका ग्रामीण सडक तथा बस्तीहरू पहिरोको उच्च जोखिममा परेका छन् । सडक अवरुद्ध हुनुका साथै कतिपय बस्तीमा पहिरो खस्ने क्रम जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जिल्लाका विभिन्न स्थानमा पहिरो तथा वर्षाजन्य घटनाका धेरै सूचना प्राप्त भइरहेको बताए । जोखिमयुक्त स्थानमा रहेका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिम देखिए सुरक्षित स्थानमा जान प्रहरीले आग्रह गरेको छ ।

लगातारको वर्षाले कमजोर बनेका भिरालो जमिनमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले जिल्लाका जोखिमयुक्त बस्तीमा थप क्षति हुन सक्ने भन्दै स्थानीय तह र सुरक्षा निकायले सतर्कता बढाएका छन् । विपत्तिबाट जोगिन आह्वान गर्दै स्थानीय प्रशासनले सार्वजनिक सूचना समेत जारी गरेको छ ।