बर्दियामा छाडा पशु चौपाया व्यवस्थित गरेर आम्दानी गरिँदै


बर्दिया—बर्दियाको ठाकुरबाबा नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थित गरेर आम्दानी लिने र मल अभावलाई पूर्ति गर्ने योजना अघि बढाएको छ । अन्तर्राष्ट्रिय साझेदार संस्था कोइकाको सहकार्यमा यस्तो योजना बढाइएको हो ।
ठाकुरबाबा–५, बनकट्टीघाटमा गौशाला निर्माण गरेर ४ सय छाडा पशुचौपाया राखेको छ । त्यस्तै ४ नम्बर वडाको खैरारस्थित गौशालामा ३ सय पशु राखेको छ । छाडा पशु चौपायाबाट आजित नगरवासीले व्यवस्थापन गर्न माग गरेका थिए । नगरवासीको मागलाई मध्यनजर गर्दै छाडा पशु चौपायालाई व्यवस्थित गरेको छ ।
‘पहिला छाडा पशु चौपाया व्यवस्थित नहुँदा खेतको अन्नबाली जोगाउन रातभरि हेरचाह गर्नुपथ्र्यो,’ ठाकुरबाबा–५, का अनिल थारुले भने, ‘पालिकाले छाडा पशु चौपाया व्यवस्थित गरेपछि रातभरी खेत कुर्न परेको छैन ।’
यस्तै जताततै बाटोमा देखिने छाडा चौपाया व्यवस्थित हुँदा दुर्घटनाको जोखिम पनि कम भएको स्थानीय सर्वसाधारणको भनाइ छ । बनकट्टीघाट स्थित एक हजार गाई गोरु राख्ने क्षमताको व्यवस्थित र चितुवा, बाघबाट सुरक्षित हुने गौशाला निर्माण गरिएको ठाकुरबाबा नगरपालिकाकी उप–प्रमुख बिना कुमारी भट्टराइले बताइन् ।
‘अहिलेसम्म गौशालामा गाई पालेर अलि–अलि मात्रामा मल बिक्री भइरहेको थियो,’ उप–प्रमुख भट्टराईले भनिन्,‘अब गौशालालाई उत्पादनसँग जोडेर आम्दानी गर्ने र अर्कोतिर किसानहरु चरम अभाव खेपिरहेको मलको समस्यालाई पनि समाधान गर्ने प्रयास भइरहेको छ ।’
गाई गोरुको स्याहार र हेरचाह गर्न ७ जना हेरालु राखिएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले बताए । ‘गौशालाको संरचना निर्माण गर्दा सुरुमा बढी लगानी लग्यो,’ नगर प्रमुख लम्सालले भने, ‘अब गाई गोरुको लागि खाने पराल र ब्रान्डमा मात्र खर्च छ । वार्षिक १५ लाखको बजेटमा गौशाला सञ्चालनमा गर्न सकिन्छ ।’
गौशालालाई दिगो बनाउन प्राङ्गारिक मल उत्पादन गर्नेगरी कोरियन सरकारसँगको साझेदारीमा काम अघि बढिसकेको नगर प्रमुख लम्सालले जानकारी दिए ।








प्रतिकृया दिनुहोस्