रूपन्देहीमा भेटेरिनरी सम्मेलन हुँदै, १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुने


भैरहवा– भैरहवा– रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन–२०२६ हुने भएको छ । नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको समन्वित विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल भेटेरिनरी एशोसियसन (एनभीए)को आयोजनामा सम्मेलन हुन लागेको हो । यही चैत्र २७ र २८ गते जिल्लाको मणिग्रामस्थित होटल ड्रिमल्याण्ड रिसोर्टमा सम्मेलन हुनेछ ।
‘दिगो पशुधन र खाद्य सुरक्षाको लागि स्वास्थ्य मार्ग’ भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनले मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्धलाई वैज्ञानिक तथा व्यवहारिक दृष्टिकोणबाट उजागर गर्ने लक्ष्य राखेको आयोजकले शनिबार मणिग्राममा पत्रकार सम्मेलन गरी जनाएका हुन् । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता, विद्यार्थी तथा सम्बन्धित सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहने नेपाल भेटेरिनरी एशोसियसनका अध्यक्ष डा.केदार सुबेदीले बताए ।
कार्यक्रमको व्यवस्थापन नेपाल भेटेरिनरी एशोसियसन लुम्बिनी प्रदेश (एनभीए लुम्बिनी) ले गर्नेछ । साथै एनभीए लुम्बिनीकै संयोजनमा सम्मेलनको पूर्वसन्ध्यामा चैत्र २६ गते दिउँसो तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालभरिका भेटेरिनरीयनहरूबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ ।
सम्मेलनमा पशु सेवा विभागका तर्फबाट समग्र पशुपन्छी क्षेत्रको वर्तमान अवस्था तथा आगामी कार्यदिशा सम्बन्धी बृहत् नीतिगत प्रस्तुति रहनेछ । साथै, विभिन्न क्षेत्र तथा थिमअनुसारका कार्यपत्रहरू प्रस्तुत गरिनेछन् । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित विज्ञहरूद्वारा विशेष प्रस्तुतिहरू राखिने कार्यक्रम छ’, अध्यक्ष डा.सुवेदीले भने, ‘विभिन्न देशका प्रतिष्ठित विज्ञहरूले पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा, जलवायु परिवर्तन तथा नवीन प्रविधि सम्बन्धी विषयहरूमा आफ्नो प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ ।’
सम्मेलनका प्रमुख आकर्षणहरूमा प्राविधिक सत्रहरू, अनुसन्धान प्रस्तुतिहरू, प्यानल छलफल तथा अनुभव आदानप्रदान कार्यक्रमहरू समावेश गरिएको एनभीएस लुम्बिनीका अध्यक्ष डा.भरत काफ्लेले बताए । १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुने, ७ भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहने तथा १५ भन्दा बढी अन्तर्राष्ट्रिय आमन्त्रित वक्ताहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको उनले जनाए । ‘यस सम्मेलनमा पशुपन्छी क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा प्राविधिक क्षेत्रमा गर्नुपर्ने सुधार, नीतिगत सुदृढीकरण तथा नयाँ सरकारलाई आवश्यक नीतिगत सुझाब प्रदान गर्ने विषयमा व्यापक छलफल हुने व्यवस्था गरिएको छ’, डा.काफ्लेले भने, ‘अर्थतन्त्र र रोजगारीको प्रमुख आधारको रूपमा रहेको पशुपन्छी क्षेत्रमा विद्यमान समस्या, चुनौती तथा सुधारका उपायहरूबारे विस्तृत बहस समेत गरिनेछ ।’
विद्यार्थीहरूको क्षमता विकासलाई प्रोत्साहन गर्न ‘स्टुडेन्ट पोस्टर प्रतियोगिता’ आयोजना गरिएको छ, जसमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ । साथै, पशु स्वास्थ्य क्षेत्रमा २५ वर्षभन्दा बढी योगदान पुर्याएका अनुभवी पशु चिकित्सकहरूलाई विशेष सम्मान तथा राष्ट्रिय स्तरका विभिन्न पुरस्कारहरू प्रदान गरिने कार्यक्रम रहेको एनभीएका महासचिव एवं सम्मेलनका प्रेस संयोजक डा.शंकर न्यौपानेले बताए ।
‘सम्मेलनमा पशुपन्छी क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायिक तथा प्रविधि प्रदायक संस्थाहरूको सक्रिय सहभागिता रहनेछ । सम्मेलन परिसरमा विविध प्रदर्शनी स्टलहरू राखिने व्यवस्था गरिएको छ, जहाँ पशु स्वास्थ्य, औषधि, खोप, आहार तथा आधुनिक प्रविधिहरू सम्बन्धी नवीनतम जानकारी सहभागीहरूलाई प्रदान गरिनेछ’, महासचिव डा.न्यौपानेले भने ।
सम्मेलनलाई नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह र सम्बन्धित निकायहरूका साथै खाद्य र कृषि संगठन (एफएओ), अमेरिकी भटमास निर्यात परिषद्, नेपाल भेटेरिनरी काउन्सिल, हेफर इन्टरनेशनल, कान्तिपुर भेट ग्रुप, त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, कृषि तथा वन विज्ञान विश्वविद्याल, हिकास्ट कलेज काठमाडौं तथा एनपीआई कलेज चितवन लगायतका संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् ।
आयोजकका अनुसार यस क्षेत्रसँग सम्बन्धित अन्य व्यवसायिक संघ–संस्था, गैरसरकारी संस्था तथा निजी क्षेत्रको समेत सहयोग रहनेछ । हालसम्म २५० जना सहभागीहरूले प्रारम्भिक नाम दर्ता गरिसकेका छन् भने करिब ५ सय जना पशु चिकित्सकहरूको उपस्थिति रहने अनुमान गरिएको डा.न्यौपानेले बताए । सम्मेलनले नेपालमा पशु स्वास्थ्य, अनुसन्धान तथा नवीन प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकको भनाई छ । साथै एक स्वास्थ्य अवधारणालाई व्यवहारमा उतार्दै पशुपालन र खाद्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै भविष्यका लागि सशक्त मार्गनिर्देशन प्रदान गर्ने विश्वास लिइएको छ । ५५ वर्ष अघि स्थापना भएको यो संस्थामा दुई हजार ५ सय बढी भेटेरिनरी चिकित्सकहरु आबद्ध छन् ।








प्रतिकृया दिनुहोस्