August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा लुम्बिनी प्रादेशिक नेपाल प्रथम

Advertisement

बुटवल– न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन (एमएसएस)मा लगातार उत्कृष्ट नतिजा प्राप्त गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल अग्रस्थानमा छ । अस्पतालले यस वर्ष पनि ‘सेकेण्डरी बी’ लेभल अस्पतालहरूको मूल्याङ्कनमा सुधार गर्दै ९० अङ्कसहित लगातार तेस्रो पटक नेपालमै पहिलो हुन सफल भएको छ ।

Advertisement

अस्पतालले गत वर्ष ८९ अङ्क प्राप्त गरेर नेपाल प्रथम हुन सफल भएको थियो । अस्पतालमा आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा यहाँ उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्ति लगायतको बारेमा जानकारी गराइएको थियो । यस अस्पतालसँगै भक्तपुर अस्पतालले समेत समान ९० अङ्क प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सरकारी अस्पतालमा सेवा लिन जाँदा नाक खुम्च्याउन पर्ने अवस्थाको अन्त्य हुँदैको बताए । मूल्याङ्कनको अङ्कमा मात्र होइन जनताले पनि महसुस गर्ने गरी काम गर्न निर्देशन समेत दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रोशनलाल चौधरीले सेवालाई थप विस्तार र विशिष्टीकृत गर्दै लैजान आग्रह गरे । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले न्यूनतम स्वास्थ्य सेवा मापदण्ड मूल्याङ्कनमा प्राप्त अहिले नतिजा पर्याप्त नभएको उल्लेख गर्दै थप सुधारका योजनासाथ काम गरिरहेको उल्लेख गरे ।

अस्पतालमा सेवा बिस्तार कार्यक्रम अन्तरगत एमआरआई सेवा सञ्चालन, गाइनोतर्फ डेडिकेटेट अपरेशन थिएटर सञ्चालन, डिजिटल पेमेन्ट सेवा, एसएमएस मार्फत मेडिकल रिपोर्ट सेवा, फार्मेसी सेवा विस्तार, चौबिसै घण्टा बीमा सेवा कार्यक्रम, सामाजिक सेवा इकाई सञ्चालन लगायतका कार्यहरू भएको जानकारी गराए ।

वेस्ट म्यानेजमेन्टका लागि अटोक्लिप मेशिनको प्रयोग तथा प्रशोधन गरी बाहिर पठाउने व्यवस्था, आइभीएफ सेवा सञ्चालनका लागि अध्ययन सुरु लगायतका काम भइरहेको बताए ।

अस्पतालमा हाल ५१ जना विशेषज्ञ चिकित्सकसहित ८५० बढी स्वास्थ्यकर्मी तथा कर्मचारीबाट सेवा प्रदान भइरहेको उल्लेख गरे ।