August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

रूपन्देहीका चार ठाउँमा चैत्र १३ र १४ गते धम्मयात्रा हुँदै

Advertisement

भैरहवा– रुपन्देहीका चार स्थानमा बृहत् धम्म यात्रा हुने भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा श्रामणेर (अल्पकालीन) भिक्षु बनेका ५ सय जना र स्थानीयको उपस्थितिमा लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्म यात्रा गर्न लागिएको हो । अखिल नेपाल भिक्षु महासंघ र थाई धर्मदूत इण्डिया–नेपालको आयोजना तथा बौद्ध समाज नेपालको व्यवस्थापनमा धम्म यात्रा हुन लागेको हो ।

Advertisement

बौद्ध समाजले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । समाजका अध्यक्ष शंकर गाहाले नेपाल लगायत विश्वभर शान्तिको सन्देश दिन, पर्यटन पवद्र्धन गर्न र सबै जात, धर्मको सामाजिक एकतालाई थप मजबुद्ध पार्न धम्म यात्रा गर्न लागिएको बताए ।

थाई भिक्षु थावरो भन्तेले धम्म यात्राले सबैलाई एकसूत्रमा बाँध्ने जनाए । उनले यसअघि नेपालमा गरिएका धम्म यात्राको सिको गरेर थाइल्याण्ड, इन्डोन एशिया, चीन लगायतका मुलुकमा पनि कार्यक्रम भएको बताए । करुणाभाव राखेर गरिने धम्म यात्रामा सबैको साथ सहयोग हुने विश्वास व्यक्त गरे ।

आयोकका अनुसार यही चैत्र १३ गते बिहान ७ बजे रुपन्देहीको देवदह र बुटवलमा एकसाथ धम्म यात्रा हुनेछ । यस्तै, १३ गते नै दिउँसो ३ बजे बुद्ध जन्मस्थल लुम्बिनीमा र १४ गते दिउंसो २ बजे भैरहवामा विशेष धम्म यात्रा हुनेछ । भैरहवाको रंगशाला रोडदेखि लुम्बिनी गेटसम्म धम्म यात्रा हुने बौद्ध समाजले जनाएको छ ।

यात्रामा प्रवजित अल्पकालीन भिक्षुहरु, भन्तेहरु, स्थानीय बासिन्दा, संघसंस्था, स्थानीय सरकारका प्रतिनिधि सहभागी हुनेछन् । श्रामणेरलाई लुम्बिनी गेट परिसरमा पुष्प अर्पण गरी स्वागत गरिनेछ । बुद्धले ज्ञान लाभ प्राप्त गरेपछि पहिलोपटक आफ्ना पिता राजा शुद्धोधनको निमन्त्रणामा गृहनगर कपिलवस्तुको तिलौराकोट फर्कंदा प्रयोग गरेको मार्गका रुपमा हालको सिद्धार्थनगर–लुम्बिनी मार्गलाई चिनिन्छि ।

यही मार्गमा अवस्थित लुम्बिनी गेटको प्रबद्र्धन गरी धार्मिक पर्यटक भित्र्याउने कार्यक्रमको लक्ष्य हो । धम्मयात्रालाई निरन्तरता दिंदा पर्यटकीय दृष्टिकोणले समेत फाइदा पुग्ने विश्वास आयोजकको छ ।

धम्मयात्रामा विभिन्न मुलकबाट भिक्षु–भिक्षुणी, उपसाक–उपसिकाहरु सहभागी हुनेछन् । भिक्षुहरुको जीवनमा धम्मयात्रालाई निकै महत्वपूर्ण मानिन्छ । समुदायतहसम्म बौद्ध शिक्षालाई पुर्याउन यो यात्राले थप सहयोग पुग्ने आयोजकले विश्वास गरेका छन् । अल्पकालीन भिक्षुहरूले पहेंलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरु पालना गर्नुपर्नेछ ।

धम्मयात्रा शब्द ‘धम्म’ र ‘यात्रा’ मिलेर बनेको हो । ‘धम्म’ को अर्थ कुशल कर्म हो भने ‘यात्रा’ को अर्थ लाग्नु हो । धम्मयात्राको अर्थ कुशल कर्म तिर लाग्नु वा कुशल कर्मसँगै प्रस्थान गर्नु हो । अघिल्लो हप्ता अल्पकालीन भिक्षुहरूलाई प्रवज्या गराई पहेँलो चीवर प्रदान गरिएको थियो । लुम्बिनीमा भएको ५ सय जनाको प्रवज्याले बुद्ध धर्म, ज्ञान र बौद्ध गतिविधिलाई जोडेको विश्वास गरिएको छ । यसले बुद्ध जन्मस्थलको प्रचार प्रसारसँगै पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।