August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

भीम अस्पताल नागरिकको स्वास्थ्य सेवाको आधार  : प्रतिनिधिसभा सदस्य थापा

Advertisement

भैरहवा–रुपन्देही–३, बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य डा. लेखजंग थापाले एक शताब्दी पुरानो भैरहवास्थित भीम अस्पताल नागरिकको स्वास्थ्य सेवाको महत्वपूर्ण आधार भएको बताएका छन् । निर्वाचित भए लगत्तै पहिलोपटक अस्पताल निरीक्षणमा पुगेका थापाले अस्पताल सुधारका लागि आवश्यक सुझाव समेत संकलन गरेका छन् । थापा आफै बरिष्ठ न्युरो चिकित्सक हुन् ।

Advertisement

रुपन्देहीस्थित सिद्धार्थनगर–१३, स्थित नेपालकै पुराना सरकारी अस्पतालमध्येको भीम अस्पतालको अवलोकन गर्न पाउँदा खुसी व्यक्त गरे । वि.सं. १९९० सालमा ३ शैय्याबाट अस्पताल सुरु भएको थियो । अहिले सरकारी तर्फबाट ५० शैय्या सरकारी र अस्पताल विकास समितितर्फ ५७ शैय्या गरी कुल १ स ७ शैय्या क्षमतामा पुगेको उनले बताए । ‘जसमध्ये ८५ बेड अहिले सञ्चालनमा रहेको जानकारी प्राप्त भयो,’उनले भने, ‘शताब्दीको इतिहास बोकेको भीम अस्पताल रुपन्देही र आसपासका नागरिकको स्वास्थ्य सेवाको महत्वपूर्ण आधार बनेको छ ।’

अवलोकनका क्रममा अस्पताल प्रमुख डा.वर्षा थापा लगायत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीसँग भेटघाट भएको थियो । त्यसक्रममा अस्पतालका सेवा प्रवाह, भौतिक पूर्वाधार, उपकरण, जनशक्ति तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा विस्तृत जानकारी लिने अवसर मिलेको थापाले बताए । ‘स्वास्थ्य क्षेत्रमा कार्यरत रहँदापनि यस अस्पतालको विकास र स्तरोन्नतिबारे धेरै पटक सोंच्ने गरेको थिएँ,’ उनले भने, ‘आज प्रत्यक्ष यहाँ पुगेर अस्पतालको वास्तविक अवस्था बुझ्दा यसलाई अझ व्यवस्थित र स्तरीय बनाउने सम्भावना पनि स्पष्ट देखिए ।’

अस्पताल व्यवस्थापनसँग छलफल गरेपछि सांसद थापाले सेवा सुधारका लागि अस्पतालको सेवा प्रवाहलाई अझ व्यवस्थित, छिटो र प्रभावकारी बनाउन, आवश्यक स्वास्थ्यकर्मी तथा विशेषज्ञ जनशक्तिको व्यवस्थापन गर्न, आधुनिक प्रविधि र उपकरण थप गर्दै उपचार सेवाको स्तर उकास्न, आकस्मिक, आईसीयू र विशेषज्ञ सेवा थप विस्तार गर्न, बिरामीले सहज, सम्मानजनक र गुणस्तरीय सेवा पाउने वातावरण सुनिश्चित गर्न र सरसफाइ, व्यवस्थापन र सेवा प्रक्रियालाई पारदर्शी र अनुशासित बनाउन आग्रह गरेका छन् । साथैं आफ्नो तर्फबाट समस्या हल गर्न सहजीकरण र भूमिका खेल्ने बताएका छन् ।

अस्पतालमा कार्यरत नन–मेडिकल स्टाफ तथा सुरक्षामा खटिएका गार्डलाई पनि समयसापेक्ष आधारभूत स्वास्थ्य सचेतना तथा आपतकालीन परिस्थितिमा कसरी सहयोग गर्ने भन्ने विषयमा तालिम दिनुपर्ने आवश्यकता रहेको कुरा पनि व्यवस्थापनलाई सुझाव दिएको उनले जनाए । ‘भीम अस्पताल केवल एउटा अस्पताल मात्र होइन, जनताको भरोसा हो,’उनले भने, ‘त्यसैले यसलाई समयअनुसार प्रविधि, दक्ष जनशक्ति र राम्रो व्यवस्थापनसहित लुम्बिनी क्षेत्रकै स्तरीय र विश्वासिलो सरकारी अस्पतालका रूपमा विकास गर्न आवश्यक रहेकोमा मैले जोड दिएको छु ।’

जनताको सहज पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनु राज्यको जिम्मेवारी भएको पनि उनले बताए । भीम अस्पतालको स्तरोन्नति, सेवा विस्तार र पूर्वाधार विकासका लागि आवश्यक पहल गर्न आफू सधैं प्रतिबद्ध रहने उनले बताए । ‘स्वास्थ्य सेवा कुनै सुविधा होइन, जनताको आधारभूत अधिकार हो,’उनले भने, ‘यो अधिकार व्यवहारमा सुनिश्चित गर्न राज्यका सबै निकाय जिम्मेवार बन्नुपर्छ भन्ने मेरो दृढ विश्वास छ ।’