जिल्ला कारागार भैरहवाका ३११ जना कैदीबन्दीको निःशुल्क आँखा जाँच


भैरहवा– जिल्ला कारागार कार्यालय, रुपन्देहीका ३ सय ११ जना कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ । शनिबार सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजना र श्रीकृष्ण नेत्रालय प्रालि, भैरहवाको प्राविधिक सहयोगमा कारागारमा निःशुल्क आँखा परीक्षण गरिएको हो । आँखा जाँचमा संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार १८ जनालाई चस्मा वितरण गरिएको छ । यस्तै, मोतियाविन्दु र जलविन्दुको शंका लागेका ८ जनालाई थप उपचारका लागि परामर्श दिइएको छ ।
संघले आफ्नो सामाजिक उत्तरदाणित्व अन्तर्गत कारागारमा निःशुल्क आँखा परीक्षण कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिए । उनले कैदीबन्दीको स्वास्थ्यलाई मध्यनजर गरी शिविर राखिएको बताए । ‘हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता विभिन्न कार्यक्रम गर्दै आएका छौं’, उनले भने, ‘यसअघि मानसेवा आश्रम र भीम अस्पतालमा सहयोग लगायतका कार्यक्रम गरेका छौं । आगामी दिनमा पनि विभिन्न क्षेत्रमा सहयोग र स्वास्थ्य सम्बन्धी कार्यक्रम निरन्तर गर्दै जानेछौं ।’
आचार्यले शिविरमा आँखामा समस्या देखिएका कैदीबन्दीलाई चस्मा र औषधि समेत वितरण गरिएको बताए । कार्यक्रम संयोजक तथा संघकी कार्यसमिति सदस्य मिना पन्थीले संघ नजिकै रहेको कारागारमा सामाजिक उत्तरदायित्व अन्तर्गत केही सेवामूलक कार्यक्रम गर्नुपर्छ भनेर आँखा शिविर गरिएको जनाइन् । उनले शिविरबाट धेरै कैदीबन्दी लाभान्वित भएको बताइन् ।
कारागार प्रशासक सुरेश भण्डारी, संघका बरिष्ठ उपाध्यक्ष दीलिपकुमार कान्दु, महासचिव कृष्णप्रसाद घिमिरे, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, श्रीकृष्ण नेत्रालयका सौरभ सरकार लगायतले संघ र नेत्रालयले गरेको शिविर प्रशंसनीय रहेको उल्लेख गरे । आँखा शिविरका क्रममा कारागारमा रहेका कैदीबन्दी, प्रहरी र कर्मचारीहरुको समेत आँखा जाँच गरिएको थियो । संघले आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।








प्रतिकृया दिनुहोस्