June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

भैरहवा मेडिकल कलेजमा प्रोक्टोलोजीमा ‘लेजर शल्यक्रिया’ सेवा सुरु

Advertisement

भैरहवा– यहाँस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसियमयस) शिक्षण अस्पताल, भैरहवामा यस क्षेत्रमा पहिलो पटक प्रोक्टोलोजी क्षेत्रमा अत्याधुनिक लेजर प्रविधिबाट शल्यक्रिया सेवा सुचारु भएको छ । देवदह नगरपालिका–१२ बस्ने २१ वर्षीय प्रविण हरिजनको उक्त प्रविधिबाट शल्यक्रिया गरिएको हो ।

Advertisement

हाल विरामीको अवस्था सन्तोषजनक रहेको र अस्पतालबाट डिस्चार्ज समेत भइसकेको छ । यो शल्यक्रिया अस्पतालका शल्यक्रिया विभागका एसोसियट प्रोफेसर डा.सन्तोष मिश्र, डा.सन्देश खड्का, डा.समीकुमार शाह, एनेस्थसिया विभागका प्रमुख तथा प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, डा.विजय यादव, नर्सिङ्ग स्टाफ शान्ति थापा सिन्जाली लगायतका टोलीले गरेको हो ।

अब अस्पतालमा विरामीहरुलाई पाइल्स, पाइलोनाइडल साइनस, एनल फिसर र फिस्टुला जस्ता रोगहरुको उपचार समेत लेजर प्रविधिबाट गर्न सकिने डा. मिश्रले जानकारी दिए । डा. मिश्रका अनुसार लेजर शल्यक्रिया परम्परागत (ओपन) शल्यक्रियाको तुलनामा विरामीलाई धैरे फाइदाजनक हुन्छ ।

अस्पतालका अनुसार उक्त प्रविधिबाट गरिने शल्यक्रियामा रगत कम खेर जाने, संक्रमण दर न्युन रहने, विरामीलाई अस्पतालको बसाईं अवधि एकदमै छोटो हुने र सफलता दर उच्च रहने विशेषता रहन्छ । साथै विरामी चाँडो नै आफ्नो सामान्य जीवनशैलीमा फर्किन सक्ने र उपचारपछि हुने पीडा पनि न्युन हुने चिकित्सकले जनाएका छन् ।

यो सेवा सुरु भएपश्चात् रुपन्देही मात्र नभई आसपासका जिल्लाहरुका विरामीहरुले समेत आधुनिक, सुरक्षित र प्रभावकारी शल्यक्रिया उपचार सेवा प्राप्त गर्न थप सहज हुने अस्पतालले अपेक्षा लिएको छ ।