July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

तिहारका पाँच दिनः पाँच विशेषता

Advertisement

भैरहवा– यस वर्ष तिहारको रमझम सुरु भइसक्यो । कामकाजी सर्वसाधरण बिदा मिलाएर घर फर्किने क्रम सुरु भइसक्यो । घर–घरमा दीपावली लक्षित झिलिमिली बत्तीले गाउँ–सहरको उमङ्ग नै बेग्लै छ । कोही भने तिहारमा देउसी–भैलोको तयारीमा जुटेका छन् । हिन्दु परम्परा अनुसार मनाइने तिहार आपसी सद्भाव र परस्पर सम्मानको पर्व हो । यो पर्वमा देवीदेवताको मात्र पूजा गरिँदैन । मानव जीवनमा सघाउने र गुणकारी पशुकोपनि पूजा गरिन्छ । त्यसैले पाँच दिनका आफ्नै पाँच विशेषता रहेका छन् ।

Advertisement

कपिलवस्तुका संस्कृतिबिद् पशुपतिमणि त्रिपाठीका अनुसार पहिलोदिन धनतेरश, काग तिहार र धनवन्तरी जयन्ती मनाइन्छ । पहिलो दिन कागलाई आहारा खुवाएर पूजा गरिन्छ । परम्परादेखि कागलाई संदेश बाहकका रुपमा सम्मान गरिँदै आएको छ । साथै कागलाई यमराजको दूत पनि मानिन्छ । कागले फोहोर मन नपराउने भएकाले घर वरिपरी सफा सुग्घर राख्न पनि मद्दत गर्छ । ‘कागले परम्परादेखि जुन काम गर्दै आएको छ, त्यो अहिले पनि गरिरहेको छ,’ त्रिपाठीले भने, ‘तिहारको पहिलो दिन नै आयूर्वेदका देवता धनवन्तरी जन्मजयन्ती पनि मनाउने गरिएको छ ।’ यस अवधिमा मानव सुस्वास्थ्य र दीर्घायूको कामना गरिन्छ ।

रुपन्देही लगायत सिमावर्ती जिल्ला र सहरी क्षेत्रमा धनतेरशलाई महत्व दिने गरिएको छ । यसदिन गहना, भाँडाकुँडा, लत्ताकपडा, कुचो, घर गृहस्थीका लागि आवश्यक धनियाँ, जिरा, मशला खरिद गर्ने परम्परा रहेको छ । पहिलो साँझ परेपछि धनकी देवी लक्ष्मीको पूजाआजा गर्ने चलन रहेको छ । तिहारको दोस्रो दिन कुकुर तिहार मनाइन्छ । यस दिन आफूले पालेको र गाउँघरमा रहेका कुकुरलाई माला लगाएर मिठा परिकार खुवाएर पूजा गरिन्छ ।

‘कुकुर प्रकृति, संस्कृति र सामाजिक सीपाही हो,’ त्रिपाठी भन्छन्, ‘एकपटक भोजन गरेको घरप्रति कुकुर सधै कृतज्ञ रहन्छ र कहिल्यै कुभलो चिताउँदैन ।’ जीवन सार्थक तुल्याउन यस्ता ज्ञान सिक्नुपर्ने उनले बताए ।

तिहारको तेस्रोदिन लक्ष्मीपूजा गरिन्छ । विषेशगरि धनकी देवीको रुपमा लक्ष्मी पूजालाई धुमधाम मनाउने चलन छ । गाईलाई महालक्ष्मीको प्रतिक मानेर पुज्ने गरिन्छ । लक्ष्मी छिटो प्राप्त होस भनेर यसदिनलाई बिषेश रुपले मनाउने गरिएको हो । यसैदिन अरुबाट आशिस लिने र दिने सुरुवात हुन्छ । देउसी–भैलो सुरुवात गरिन्छ ।

लक्ष्मी पूजा गरेमा धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्न सकिने त्रिपाठीको भनाई छ । लक्ष्मी पूजाका दिन साँझ घरघरमा दीवापली गरिन्छ । घर, गोठ, आँगन सबैतिर दियो जलाएर उज्यालो बनाइन्छ ।

तिहारको चौथोदिन वर्षभरि खेतीपातीमा उपयोग गरिने गोरु र गाईको पूजा गरिन्छ । यस दिन गोबद्र्धन पूजा गर्ने चलन छ । यहीँ दिनबाट नयाँ नेपाल सम्वतको सुरुवात हुन्छ । भने नेवारी समुदायले म्ह पूजा गर्छन् । यसदिन गोबरको पर्वत बनाएर पूजा गरिन्छ । भने घरमा रहेका बस्तुभाउलाई तेल लगाएर पूजा गरिन्छ । यस्तो पूजाले मानव–पशुबीच परस्पर सम्बन्धलाई सम्मान मिल्छ । साथैं प्रकृति र संस्कृतिको एकैदिन पूजा गरिन्छ । पहिलो ट्रयाक्टर नभएका बेला खनजोतको प्रमुख आधार गोरु हुन्थे । त्यसैले गोरुप्रति सम्मान व्यक्त गर्न यो पूजा गरिन्छ ।

तिहारको अन्तिमदिन भाइटिका लगाइन्छ । हिन्दु परम्परा अनुसार दिदिबहिनीले दाजुभाईको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै पर्व मनाउने गरेका छन् । भाईटिका लागि वर्षभरि टाढा रहेका दाजुभाई दिदिबहिनीको घरमा पुगेर टिका र आशीर्वाद थाप्छन् । दाजुभाईले दिदीबहिनीलाई आफ्ने गक्ष अनुसार दान दक्षिणा दिने चलन छ । ‘दाजुभाई–दिदिबहिनीबीच मेलमिलापको दिन हो,’ त्रिपाठीले भने, ‘पारिवारिक सदभावका लागि चाड महत्वपूर्ण छ ।’