नाकामा फरक-फरक रुट परमिट व्यवस्थाले व्यवसाय प्रभावितः होटल संघ


भैरहवा– सिद्धार्थ होटल संघ नेपाल (शान) ले रुपन्देही लगायत पश्चिम नवलपरासी र कपिलवस्तुका नाकामा भारतीय पर्यटकका लागि फरक–फरक दिइँदै आएको रुट परमिट व्यवस्थाले भैरहवा र आसपास क्षेत्रको पर्यटन व्यवसाय प्रभावित बनेको जनाएको छ । सरकारले ८० किलोमिटर सिमानामा ५ वटा भन्सार नाका सञ्चालन निर्णय गरेको छ । यस्तो निर्णयका कारण रुपन्देहीको बेलहिया–सुनौली बाहेक अन्य नाकाबाट पनि भारतीय पर्यटकले प्रवेश पाउने भएका छन् ।
सरकारी निर्णयपछि भैरहवामा क्षेत्रमा भित्रिरहेको लगानी र चहलपहल प्रभावित हुने शानले जनाएको छ । होटल संघका अनुसार अहिले बेलहिया नाका हुँदै प्रवेश गर्ने पर्यटकलाई परमिट शुल्क वापत एउटा सवारी साधनबाट ६ सय रुपैयाँ लिने गरिएको छ । ‘तर रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीस्थित अन्य नाकाबाट तीनै गाडी मुलुकमा आउँदा परमिट शुल्क नलाग्ने व्यवस्थाको हामी घोर भत्र्सना गर्दछौं,’ संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठद्वारा बुधबार जारी प्रेस बिज्ञप्तीमा भनिएको छ, ‘यस्तो निर्णयले लगानिकर्तालाई हतोत्साहित तुल्याएको छ ।’
प्रेस बिज्ञप्तिमा बेलहिया बाहेक लुम्बिनी, महेशपुर, लुम्बिनी र कृष्णनगर नाकाबाट गाडी प्रवेश गर्दा परमिट शुल्क नलाग्ने व्यवस्थामाको विरोध गरिएको छ । सिद्धार्थ होटल संघले यस्तो निर्णय सच्याउन माग समेत गरेको छ । संघले यस्तो निर्णयप्रति सरकारको ध्यानाकर्षण हुनुपर्ने जनाएको छ । निर्णयबारे पुनर्विचार नगरे आन्दोलनको चेतावनी समेत सिद्धार्थ होटल संघले दिएको छ ।








प्रतिकृया दिनुहोस्