बुद्धजयन्तीका लागि लुम्बिनी सिंगारियो


भैरहवा– पच्चिस सय ६९ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसको पूर्व सन्ध्यामा बुद्ध जन्मस्थल सिंगारिएको छ । बुद्ध जयन्तीका लागि मायादेवी मन्दिर परिसरसँगै मोनाष्ट्री जोन र आसपास क्षेत्र सरसफाई गरेर चिटिक्क तुल्याइएको छ । मायादेवी मन्दिरलाई बिजुली वत्तीले रंगीचंगी बनाइएको छ ।
लुम्बिनी परिसर प्रवेशद्धार सिंगारिएको छ । लुम्बिनीका हरेक संरचना रंगरोगन गरेर आकर्षक तुल्याइएको छ । बुद्धप्रति आस्था जनाउने ध्वजापतका लगाइएपछि लुम्बिनी चिटिक्क र आकर्षक देखिएको छ । लुम्बिनी बिकास कोषले वैशाख २८, २९ र ३० गते बुद्ध जयन्तीलाई विशेष उत्सवका रुपमा मनाउन लागेको छ । यसै सन्दर्भमा आइतबार पनि लुम्बिनीमा विविध कार्यक्रम भइरहेका छन् ।
बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन विशेष समारोह हुने लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार समितिका संयोजक ढुण्डिराज भट्टराईले जानकारी दिए ।
विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित संघीय सरकारका मन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने उनले बताए ।
उनका अनुसार वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ भने वैशाख २९ गते बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गूरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, बिहान ७ः३० शोभायात्रा हुनेछ ।








प्रतिकृया दिनुहोस्