May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

तीन जिल्लाका बौद्ध सम्पदाको प्रवर्द्धन गर्न ‘बुद्ध ज्ञान साइकलयात्रा’

Advertisement

भैरहवा– रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासी जिल्लामा रहेको पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार र प्रबद्र्धन गर्ने उद्देश्यसहित ‘बुद्ध ज्ञान साइकलयात्रा’ सुरु भएको छ । शुक्रबार भैरहवाको बुद्धचोकस्थित लुम्बिनी गेटबाट नेपाल–भारतको झन्डा फहराएर साइकलयात्राको शुभारम्भ गरिएको हो ।

Advertisement

दुईदिने उक्त यात्राको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, सिद्धार्थनगर उद्योग वणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठलगायतले शुभारम्भ गरेका हुन् । उक्त यात्राको लक्ष्य भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलवस्तुमा रहेका पुरातात्विक बुद्धस्थलहरूको पर्यटन प्रवद्र्धन गर्नु रहेको आयोजक साइकल सिटी भैरहवाले जनाएको छ ।

‘बुद्ध ज्ञान साइकलयात्रा’ लुम्बिनीमा पुगेर समापन हुने आयोजक संस्थाका अध्यक्ष सूर्यकुमार सारुमगरले बताए । साइकलयात्रमा सहभागिता जनाउन नेपाल, भारतलगायत विभिन्न स्थानबाट १३० साइकलयात्री बिहीबार भैरहवा आइपुगेका थिए । उनीहरूलाई भैरहवामा खादा लगाएर स्वागत गरिएको थियो । ती सबैजना आजदेखि सुरु यात्रामा हिंडेका छन् ।

यात्रामा सबैभन्दा कम उमेरका बालक आठ वर्षीय किस्टोफर श्रेष्ठ, बालिकामा ११ वर्षीया आस्वानी खरेल पनि सहभागी छन् । त्यसैगरी, ज्येष्ठ नागरिकमा भारत उत्तराखण्डका ७६ वर्षका कमल जित दिमन र ७१ वर्षीय बिस्हु दिमन दम्पत्ती पनि सहभागी छन् ।

यात्रामा विश्व साइकलयात्री पुस्कर शाहसहित नेपाल, भारत र जर्मनका १३० साइकलयात्री सहभागी छन् । साइकल सिटी भैरहवाको आयोजनामा हरेक वर्ष कार्यक्रम गर्ने लक्ष्य राखिएको छ । टोली, तीन जिल्लाका सम्पदाहरुको यात्रा गरी लुम्बिनी फर्किए पछि शनिबार समापन गरिनेछ ।