भैरहवामा पूर्वडीआईजी जोशीसँग लिइयो साढे ७ घण्टा बयान


भैरहवा– पूर्वडीआईजी एवं गोर्खा मिडिया प्रालिका संचालक छविलाल जोशीलाई भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा मंगलबार साढे ७ घण्टा बयान लिइएको छ । सोमबार एक बजे पोखराबाट भैरहवा ल्याइएका जोशीलाई हिजो प्रारम्भिक सोधपुछ गरिएको थियो । मंगलबार दिनभर बयान गरिएको हो ।
जोशीलाई सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय भैरहवाका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत यमलाल बन्जाडेसहितका प्रहरीहरुले बयान लिएका हुन् । ‘बिहान ११ बजेदेखि बयान सुरु गरेका थियौं’, जिल्ला न्यायाधीवक्ता प्रेमराज पौडेलले भने, ‘तत्कालका लागि जोशीजीको बयान सकिएको छ । पीडितको जाहेरी र संसदीय छानविन समितिले दिएको निर्देशन अनुसार बयान लिने काम भएको हो ।’
जोशीलाई मंगलबार साँझ साढे ६ बजेसम्म बयान लिइएको हो । जिल्ला न्यायाधीवक्ता पौडेलले जोशीमाथि लागेका आरोपबारे ५७ वटा प्रश्न सोधिएको जनाए । ‘उहाँले सहज रुपमा बयान दिनुभयो । अहिलेलाई बयान सकिएपछि प्रहरीले यहाँबाट बाहिर लगेको छ’, उनले भने । पूर्वगृहमन्त्री रवि लामिछाने र संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीवी) राई बारे बयानमा जोशीले के भने भन्नेबारे प्रत्रकारहरुको जिज्ञासामा उनले अहिले केही खुलाउन नमिल्ने बताए । प्रहरीका अनुसार जोशीको रुपन्देहीमा बयान सकिएपछि यहाँबाट पोखरा लगिएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा जोशी पक्राउ परेका थिए । सुप्रिम सहकारी ठगीमा पनि जोडिएका उनलाई बयानका लागि यहाँ ल्याइएको हो । सोमबार रुपन्देही ल्याइएका जोशीको दुई दिन लगाएर बयान गरिएको हो । एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छाविन समितिले सुप्रिम सहकारीबाट गोर्खा मिडियामा १४ करोड २९ लाख ३६ हजार रुपैयाँ अवैधानिक रुपमा लगिएको तथ्य बाहिर ल्याएको छ । प्रहरीका अनुसार सुप्रिम सहकारीमा १० हजार ३९१ जना सर्वसाधरणको ७८ करोड बढी बचत रकम अपचलन भएको छ । सुप्रिम सहकारीमा ठगी आरोपमा अहिलेसम्म अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । गुरुङसहित केही पुर्पक्षका लागि कारागार चलान भएका छन् भने केही फरार छन् ।

जोशीको सरकारी वकिल कार्यालमा बयान चलिरहँदा सहकारी पीडितहरुले रुपन्देही जिल्ला अदालत अगाडि विरोध प्रदर्शन गरेका थिए । सुप्रिम पीडित संघर्ष समितिमार्फत् विरोध प्रदर्शन गरिएको हो । सहकारी पीडित बुटवल–१३ निवासी जमुना सुवेदीले दुःख गरेर जम्मा गरेको पैसा शक्तिशालीहरुले खाएर आफूहरुलाई सडकमा पुर्याएको बताइन् । ‘छोरीछोरीलाई मिठो मसिनो समेत खाना नदिई जम्मा गरेको मेरो २३ लाख रुपैयाँ डुब्यो’, उनले भनिन्, ‘न्यायका लागि कति आवाज उठायौं । हाम्रो पैसा फिर्ता हुने कुनै ठेगान छैन ।’ उनले सरकारले भए पनि आफूहरुको पैसा फिर्ता गर्नुपर्ने माग गरिन् ।
तिलोत्तमा–९का सहकारी पीडित नारायण पौडेलले सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु राई (जीवी) लाई राजनीतिक संरक्षणमा भगाइएको आरोप लगाए । ‘हामीले खुनपसिना बगाएर जम्मा गरेको रकम डुबेको छ । दोषीलाई पक्राउ समेत गरिएको छैन’, उनले भने, ‘राजनीतिक संरक्षणककै कारण दोषीहरु उम्किरहेका छन् ।’ उनले पछिल्लो समय रवि र छवि पक्राउले केही आशा पलाए पनि अझै न्याय पाइन्छ भनेर ढुक्क हुने अवस्था नरहेको बताए ।
बुटवल–४ का सहकार पीडित विजयकुमार नेपालले बचत रकम फिर्ता नहुँदा औषधि उपचार र छोराछोरीलाई शिक्षादिक्षाबाट बञ्चित हुनु पुगेको जनाए । उनले आफ्नो मात्रै सुप्रिम सहकारीमा ५० लाख डुबेको बताए । ‘हाम्रो रगत–पसिनाको कमाई फिर्ता गर्नुपर्छ । सहकारी ठगी बन्द गर्नुपर्छ । दोषीलाई कारबाही गर्नुपर्छ । बुटवल शाखाका व्यवस्थापक सागर केसी र जीवी राईलाई तत्काल पक्राउ गर्नुपर्छ’, उनले भने ।
सम्बन्धित समाचार
रूपन्देही जिल्ला अदालत अगाडि सुप्रिम सहकारी पीडितको प्रदर्शन (तस्बिरहरू)
सुप्रिम सहकारी ठगी प्रकरणः पूर्वडीआईजी जोशीसँग जिल्ला सरकारी वकिल कार्यालय भैरहवामा बयान लिन सुरु
बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा पूर्वडीआईजी जोशीसँग भैरहवामा बयान लिइँदै









लेखकको सम्वन्धमा