June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा पूर्वडीआईजी जोशीसँग भैरहवामा बयान लिइँदै

Advertisement

भैरहवा– गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई बुटवलस्थित सुप्रिम सहकारीको निक्षेप अपचलन सम्बन्धी बयानका लागि रुपन्देही ल्याइएको छ । सोमबार उनलाई पोखराबाट यहाँ ल्याइएको हो । सोमबार केही समय बयानपछि उनलाई जिल्ला प्रहरीको हिरासतमा राखिएको थियो । जोशीको आज मंगलबार पनि बयान लिइँदै छ ।

Advertisement

पूर्वडिआइजी समेत रहेका जोशीलाई पोखराबाट हवाई जहाजमार्फत रूपन्देही ल्याएर सोमबार नै बयान सुरू गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी लक्ष्मी खनालले आज जोशीको बयान हुने जनाइन् । ‘सम्भवतःमंगलबार उहाँ (जोशी)को बयान सकेर पोखरा नै पठाउन सकिने सम्भावना छ’, उनले भनिन् । उनको जिल्ला सरकारी वकिल कार्यालयमा बयान हुनेछ ।

सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १४ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको प्रहरी अनुसन्धानले देखाएको छ । प्रतिनिधिसभा सदस्य सूर्य थापा नेतृत्वको गठित संसदीय छानबिन विशेष समितिको सिफारिस कार्यान्वयनका क्रममा असोज ६ गते जोशी काठमाडौँबाट पक्राउ परेका थिए ।

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीमा हिरासतमा रहेका जोशी बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएको आरोप छ । संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेको आरोप उनीमाथि छ । सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी .रास्वपा) का सभापति रवि लामिछाने पनि अहिले पोखरास्थित कास्की प्रहरीको हिरासतमा छन् ।