May 21, 2024, Tuesday
८ जेष्ठ २०८१, मंगलवार

श्रमिकको हकअधिकारका लागि कानुन निर्माणमा प्रतिबद्ध छौंः सभामुख घर्तीमगर

दाङ– लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले श्रमको सम्मान विना श्रमिकहरुको हकअधिकार स्थापित हुन नसक्ने बताएका छन् । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा देशविदेशमा रहेका लुम्बिनी प्रदेशबासी सम्पूर्ण श्रमजीवि दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले रोजगारीको सिर्जना गर्नुको कुनै विकल्प नभएको उल्लेख गरेका छन् । उनले रोजगारी सुनिश्चितताको लागि अब केही पहल गर्नै पर्ने आवश्यकता औल्याएका छन् ।

Advertisement

बुधबार जारी शुभकामना सन्देशमा सभामुख घर्ती मगरले आजको मुख्य चुनौती स्वदेशमा रोजगारीको सिर्जना र श्रमिक विदेश पलायनको रोकथाम नै भएको जनाएका छन् । शिपयुक्त एवं प्राविधिक शिक्षा र कृषि, पर्यटन, उद्योगबाटै रोजगार तथा स्वरोजगार बन्नेबनाउने वातावरण सिर्जना गर्न उपलब्ध स्रोतहरुको उच्चतम् एवं दिगो प्रयोग गरी श्रमिक मजदुरका लागि अवसर सुनिश्चित गर्न सकिने उनले जनाएका हुन् ।

Advertisement

‘एकातिर हरेक वर्ष श्रम बजारमा नवप्रवेशीहरुको संख्यामा बृद्धि भइरहेको छ भने अर्कोतिर विज्ञान प्रविधिको विकासले थोरै मानव संशाधनबाट धेरै काम सम्पन्न हुने अवस्था सिर्जना भएको छ । यसबाट श्रम बजारमा बेरोजगारहरुको संख्यामा अझ वृद्धि हुन सक्छ । रोजगारीको सिर्जना विना वेरोजगारी समस्या हल हुनै सक्दैन । तसर्थ रोजगारी सुनिश्चितताका लागि अब केही पहल गर्नै पर्छ’, सभामुख घर्ती मगरले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

जनयुद्ध, जनआन्दोलन, विभिन्न समयकालमा भएका क्रान्ति र संघर्षको माध्यमबाट अग्रगामी परिवर्तनका लागि श्रमिक मजदुर वर्गको योगदान एवं बलिदानको स्मरण गर्दै सभामुख घर्तीमगरले उनीहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन् । लुम्बिनी प्रदेश सभा श्रमिक वर्गको हकअधिकारको सवालमा कानुन निर्माणमा सचेत र प्रतिवद्ध रहेको जनाउँदै सभामुख घर्ती मगरले श्रमिक वर्गको अधिकार स्थापित गर्न र श्रम सम्वन्धी सम्पूर्ण समस्या हल गरी मजदुरमैत्री ऐन, कानुन निर्माण गर्न प्रदेश सभा नेतृत्वका रुपमा यसका लागि सदैव तत्पर रहेको विश्वास दिलाएका छन् ।

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन गर्न पाउने लगायत पेशागत हक हितको प्रवद्र्धन र कामको सुरक्षाका आधारभूत माग राखी अमेरिकाको शिकांगो शहरमा भएको संघर्षबाट मजदुरको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ भन्ने मान्यता स्थापित भएको थियो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउँदै आइएको छ । नेपालमा आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मनाइँदै छ ।