May 12, 2025, Monday
२०८२ बैशाख २९

बचत रकम फिर्ता नपाएपछि बुटवलको मन्जुश्री सहकारीविरुद्ध उत्रिए बचतकर्ता

भैरहवा– रुपन्देहीको भैरहवामा केन्द्रीय कार्यालय रहेको मन्जुश्री वहुउद्देश्यीय सहकारी संस्था लि. को बुटवल शाखाले बचत रकम फिर्ता नगरेको भन्दै बचतकर्ता सहकारी घेराउ गरेका छन् । उनीहरु बचत फिर्ता नदिएको भन्दै बुटवलमा रहेको सहकारीको कार्यालय घेराउ गर्दै तत्काल रकम फिर्ताको माग गरेका छन् ।

Advertisement

आइतबार सहकारीले तरलता अभावका कारण संस्थाको बुटवल शाखा काउन्टर सेवा बन्द गरेको सूचना जारी गरेपछि बचतकर्ताहरुले शाखा कार्यालय घेराउ गरेका हुन् । बुटवल–११, कालिकानगरमा रहेको शाखा कार्यालयमा करिब २ दुई सय जना वचतकर्ताले घेराउ गरेका हुन् ।

वचतकर्ताले शाखा कार्यालय र अध्यक्ष खिमराज भण्डारीलाई घेराउ गरेपछि दुबै पक्षलाई राखेर छलफल गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए । ‘अब हामीले सहकारीबारे विस्तृत विवरण संकलन र अनुसन्धानपछि गर्छौं’, उनले भने, ‘त्यसपछि कसरी अगाडि जान सकिन्छ भन्ने विषयमा टुंगो लाग्ला ।’

शाखाका दुईजना कर्मचारीहरु भने यसअघि नै वचतकर्ताहरुको सम्पर्कमा नरहेपछि उनीहरु सशंकित थिए । सहकारीका अध्यक्ष खिमराज भण्डारी शाखा कार्यालयमा आउने सूचना पाएपछि वचतकर्ताहरु घेराउ गर्न पुगेका हुन् । सहकारीको शाखा कार्यालयहरु बुटवलसहित कपिलवस्तुको जितपुर चार नम्बर र चन्द्रौटासमेत छन् ।

पछिल्लो समय मुलुकभर रहेका सहकारीमा संकट उत्पन्न भएको छ । रुपन्देहीमा एकपछि अर्को सहकारी यस्तै समस्या देखिएको छ । संचालकले बचत रकम फिर्ता नगरेपछि सर्वसाधरण सहकारी घेराउमा उत्रिरहेका छन् । यसअघि सुप्रिम सहकारीले बचत रकम हिनामिना गरेपछि विरोध भएको थियो । सुप्रिमको विवाद अहिले अदालतसम्म पुगेको छ ।

मन्जुश्रीसँग यसअघि नै वचतकर्ताहरुले आफ्नो वचत रकम फिर्ता मागेको तर सहकारीले विभिन्न बहाना बनाएर फर्काउने, बुटवल शाखाले दिएको चेक प्रधान कार्यालय भैरहवामा लगेर जाँदासमेत पैसा दिन नमिल्ने भनेर फर्काएको बचतकर्ता पुनम जिसीले बताइन् । ‘रकम फिर्ता नगरेर हामीलाई कहिले यता कहिले उता गराउने काम भइरहेको छ’, उनले भनिन्, ‘तत्काल हाम्रो बचत रकम फिर्ता हुनुपर्छ ।’

सहकारीका अध्यक्ष भण्डारीले बचतकर्तालाई फिर्ता गर्नुपर्ने रकम २ करोड रहेको र साढे ३ करोड कर्जा लगानी गरिएको भन्दै कर्जा असली प्रक्रियामा रहेकाले तरलता अभावका कारण केही समय बुटवल शाखा बन्द गर्नुपरेको जनाए । ‘हामीले केही समयमा सबैको बचत रकम फिर्ता गर्छौं, अहिल्यै आत्तिहाल्ने बेला भएको छैन’, उनले भने ।

संस्थाले कोरोना महमारीपछि आर्थिक क्षेत्रमा परेको असरका कारण लगानी गरिएको कर्जा समयमा असुली नहुँदा तरलता अभाव बढ्दै गएको र कतिपय सदस्यले बचत गरेको रकम अवधि नपुग्दै माग गरेकाले फिर्ता दिँदा तरलता अभाव झनै बढेर समस्या भएको उनको दावी छ । ‘बचतकर्ता आत्तिनु स्वभाविक हो’, उनले भने, ‘तर आत्तिहाल्नुपर्ने अवस्था छैन । रकम फिर्ता गर्छौं ।’