रुद्रदेवी कलाकेन्द्रमा तीन महिने ‘डान्स तथा हेल्थ फिटनेस क्याम्प’

भैरहवा– यस क्षेत्रकै लोप्रिय कलाकेन्द्र रुद्रदेवी कलाकेन्द्रमा तीन महिने ‘डान्स तथा हेल्थ फिटनेस क्याम्प’ सुरु भएको हो । सिद्धार्थनगर नगरपालिका–७, भैरहवामा रहेको उक्त कलाकेन्द्रमा बालबालिका तथा सबै उमेर समूहका नागरिकलाई लक्षित गरी तीन महिनाको क्यम्प सुरु गरिएको संचालक सुनील गुप्ताले जानकारी दिए ।
‘हामीले कम्तिमा पाँच हजारजनालाई सेवा दिने गरी यो क्याम्प संचालन गरेका छौं’, उनले भने, ‘यसबाट भरपूर्ण फाइदा लिन म भैरहवाबासीलाई आह्वान गर्दछु ।’ उनका अनुसार हरेक हप्ताको शुक्रबार र शनिबार कक्षा संचालन हुनेछ । महिनामा ४ दिन इच्छुकले सहभागिता जनाउन सक्नेछन् । ‘नियमित डान्स गर्दा एकातर्फ कलाकारिता सिकिन्छ भने अर्कातर्फ स्वास्थ्य पनि राम्रो हुन्छ, त्यसैले हामीले कार्यक्रमको नाम नै ‘डान्स विथ हेल्थ फिटनेस क्याम्प’ भनेर राखेका छौं ।’
शुक्रबारदेखि सुरु क्याम्प तीन महिनासम्म सञ्चालन हुने र यस क्षेत्रका सबै उमेर समूहका नागरिक सहभागी हुने उनले अपेक्षा राखेका छन् । विद्यालय तथा क्याम्पसका विद्यार्थी, युवा, अभिभावक, विभिन्न सामाजिक संघ–संस्था, सञ्चार क्षेत्र, कलाकारलगायत पनि सहभागी हुन सक्ने उनले जनाए । ‘प्रत्येक हप्ताको एक दिन तालिम (शुक्रबार वा शनिबार बिहान–साँझ) सञ्चालन हुनेछ । एक महिनामा ४ दिन गरी ३ महिनामा १२ दिन कार्यक्रम सञ्चालन हुनेछ । यसका साथै डिप्लोमा डान्स कोर्समा ५० प्रतिशत छुटको व्यवस्था पनि गरेका छौं’, कलाकेन्द्रका संचालक गुप्ताले भने ।
क्याम्पमा सहभागी हुनेले न्युनतम शुल्क तिरे पुग्छ । संचालक गुप्ताका अनुसार ३ महिनाको ३ सय रुपैयाँ मात्र शुल्क राखिएको छ । ‘यो अवधिमा ५ हजार जनालाई तालिम दिने लक्ष्य राखिएको छ । जसमा खानपान, रहनसहनका बारेमा टिप्स, ग्यारेण्टीका साथ तौल कम गर्ने टिप्स, शरीरलाई फिट राख्ने कार्य, कोलेष्ट्रोल कन्ट्रोल, मोटिभेट, कन्फीडेन्स् पावर बढाउने, बलियो कसरी हुने जस्ता कुराहरु सिकाइनेछ,’ उनले भने । यो कार्यक्रम गर्न १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको संचालकले बताएका छन् ।
खासगरी भैरहवा र यस आसपासलाई लक्षित गरिए पनि क्याम्पमा नेपालभरीका जुनसुकै नागरिकले सहभागिता जनाउन सक्ने संचालकले बताएका छन् । कार्यक्रमलाई रुद्रदेवी फ्रेण्डस् क्लब भैरहवा, सिद्धार्थनगर, रुपन्देहीले सहयोग गरेको छ । रुद्रदेवी फ्रेण्डस् क्लबका अध्यक्ष विष्णु आचार्यले शारीरिकरुपमा स्वस्थ् राख्न र सिक्न चाहनेलाई डान्स सिकाउन क्याम्प फलदायी हुने बताए ।
उनका अनुसार क्लबको तर्फबाट सामूदायिक विद्यालयका १ सय जना विद्यार्थीहरुलाई निःशुल्क तालिमको व्यवस्था गरिएको जानकारी दिए । ‘तनाव व्यवस्थापन गर्न कार्यक्रमले सहयोग गर्ने विश्वास छ’, उनले भने, ‘त्यसैले सबैलाई सहभागिताका लागि अनुरोध गर्दछु ।’ उनले फ्रेण्डस् क्लब गठन भएको ७–८ महिना पुगेको र यो अवधिमा कला क्षेत्रमा लाग्न चाहनेलाई आवश्यक सहयोग गरिएको बताए ।
प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलले रुद्रदेवी कला केन्द्रले डान्सका लागि प्लेटफर्म उपलब्ध गराउँदै आएको र यो भैरहवाको गौरव भएको सुनाए । उनले तनाव व्यवस्थापन र सिक्ने चाहनेका लागि उपयुक्त क्याम्प रहेको उल्लेख गरे । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ स्थित नारायणपथमा २०७३ सालमा स्थापना भएको रुद्रदेवी कला केन्द्रको आठौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कलाकेन्द्रले क्याम्प संचालन गरेको हो । टंकनाथ आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्