May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

‘सिद्धबाबा धामलाई धार्मिक पर्यकीय हब बनाउन बृहत् गुरुयोजना आवश्यक’

बुटवल– लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सिद्धबाबा मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रकारुपमा बिकास गर्न गुरुयोजना आवश्यक रहेको बताएका छन् । तिनाउ नदीमा जलासय निर्माण गरी जलासयमा आरतीको ब्यवस्था मिलाउन सकिने सम्भावना रहेको उनले बताए ।

Advertisement

सिद्धबाबा मन्दिर बिकास समितिको आयोजनामा मंगलबार सामूहिक चौरासी पुजा महोत्सवको शुभारम्भ गर्दै उनले भने, ‘यहाँ धार्मिक पर्यटक भित्र्याउन सकिने आधार तयार भएको छ । सिद्धबाबा धाम क्षेत्रको बिकासले पाल्पाको मात्र होइन्, सिङ्गो प्रदेशकै बिकासमा टेवा पुर्याउने छ ।’ उनले नजिकैको रामापिथेकस, तिनाउ ड्याम झरना, तिनाउ नदी किनारमा ट्रेकिङ रुट जोडेर बृहत गुरुयोजना बनाउन आवश्यक रहेको जनाए ।

Advertisement

समितिले मन्दिर परिसरमा शिशु स्तनपान कक्ष संचालन गरेको छ । त्यसैगरि कालीगण्डकीबाट ल्याइएको शालिग्राम दर्शनको लागि ब्यवस्था गरिएको समितिका अध्यक्ष सन्तोषलाल शेरचनले जानकारी दिए । सन्तानेश्व धामका संरक्षक एवं धर्मगुरु किशोर गौतमले कालीगण्डकीको शालिग्राम सिद्धबाबा मन्दिरमा प्राणप्रतिस्ठा गरे । उनले चिल्ड्रेन पार्क, सिद्ध गुफामा जाने सिढीं निर्माण, भक्तजन आश्रम स्थल आदि गुरुयोजना बनाएर काम गर्ने बताए ।

तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले सिद्धबाबा पाल्पाको हरि गुरुद्वार नै रहेको जनाए । समितिका सदस्य एवं चौरासी पुजा कार्यक्रम संयोजक गोपाल बश्यालले समितिले नै खर्च गरि चौरासीपुजा गरिएको जानकारी दिए । आर्थिक अभावमा उमेर पुगेका कोही पनि चौरासी पुजा गर्नबाट बञ्चित हुन नपरोस् भनेर सामूहिक चौरासी पुजालाई निरन्तरता दिने योजना रहेको धामका प्रमुख पण्डित लक्ष्मी सापकोटाले जानकारी दिए ।

यसैबीच सिद्धबाबा धामको गुरुयोजना तयार गर्नका लागि सरोकारवालासँग छलफल गरिएको छ । भेटी दानबाट वार्षिक १ करोड भन्दा बढी आम्दानी हुने समितिले जनाएको छ । इन्जिनियर बिनोद खड्काले गुरुयोजना बनाएर काम गर्दा ब्यवस्थित हुने बताए ।