May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

विद्यार्थी अभावले कक्षा कटौती गर्दै पालिका

प्यूठान– जिल्लाको झिमरुक–६, दहखोलास्थित सिद्ध प्राबि जेनतेन चलिरहेको छ । उक्त विद्यालयमा चालु शैक्षिक शत्रमा २२ जना विद्यार्थी भर्ना भएका थिए । अहिले ८–१० जना मात्र नियमित आउने गरेका छन् । बालविकासदेखि कक्षा ५ सम्म पढाई हुने विद्यालयमा सहयोगीसहित ५ जना शिक्षक–कर्मचारी छन् । बिद्यार्थी संख्याकम भएपछि अहिले शिक्षक फुर्सदिला भएका छन् । चार–पाँचजना विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने गरिएको छ । कहिले छुट्टाछुट्टै पढाउने गरिएको प्रध्यानाध्यापक पूर्णलाल गिरीले बताए । विद्यालयमा कक्षा १ मा ५ जना भर्ना भएका छन् । कक्षा दुई, तीन र चारमा तीन–तीन जना छन् ।

Advertisement

२०५५ सालमा स्थापना भएको विद्यालयमा कुनै समय दुई सय भन्दा बढी बिद्यार्थीले अध्ययन गर्थे । ‘कुनै समय चलेकै स्कुल हो, अहिले बिद्यार्थी कताकता गए,’ गिरीले भने, ‘यिनै हातले एक सय पचास भन्दा बढीलाई छात्रावृति वितरण गरेको हुँ ।’ गाउँमा जनसंख्या घट्दा तथा नजिकै पछि अन्य विद्यालय खुलेपछि कम भएको उनले बताए । प्यूठान नगरपालिका– ९ र १० नजिकै बिद्यालय सञ्चालन हुँुदा नगरपालिकाभित्रका अधिकाशं बिद्यार्थी उतै पढ्न जान्छन् । मरन्ठानकै मजुवामा १० मिनेटको दूरीमा बालबिद्या माबि छ । प्रअ गिरीले नगरपालिका भित्रका विद्यार्थीलाई पालिकाभित्रकै विद्यालयमा अध्ययन गरेमात्र सुविधा नपाइने बताइएकाले अन्यत्र नगएको उनले बताए ।

Advertisement

झिमरुक गाउँपालिकामा ५ वटा विद्यालयमा न्यून विद्यार्थी रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मोहन बीसीले बताए । गाउँपालिकाभित्रका ४८ वटै बिद्यालयको गाउँपालिकाद्वारा अनुगमन गरिएको र त्यसमध्ये चार–पाँचवटा बिद्यालयमा विद्यार्थी संख्या निकै कम पाइएको प्रमुख बीसीले बताए । उनका अनुसार अनुगमनका क्रममा सामुदायिक विद्यालयमा पहिलेको तुलनामा विद्यार्थी घटेको पाइएको बताए । गाउँपालिकामा प्राथमिक तहका ३० बिद्यालयमध्ये २० भन्दा बढीमा बिद्यार्थी संख्या र शिक्षक अनुपात नमिलेको पाइएको उनले बताए ।

झिमरुक–१, डाँडाखर्कस्थित दिपेन्द्र प्राबिमा अहिले विद्यार्थी अभाव भएको छ । विद्यालय व्यवस्थापन समिति र शिक्षक अहिले छात्रछात्राको खोजीमा भौतारिनु परेको छ । २०४६ सालमा स्थापना भएको बिद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । सहयोगी सहित ६ जना शिक्षक–कर्मचारी रहेका छन् । तर, विद्यार्थीको संख्या ३२ मात्र छ । भर्ना भएकामध्ये २८–३० मात्र नियमित विद्यालय आउँछन् । पढ्ने विद्यार्थी नभएपछि विद्यालय सञ्चालन गर्न कठिनाई भएको छ ।

जेनतेन बिद्यालय चलिरहेको प्रध्यानाध्यापक जगतबहादुर जीसीले बताए । बालविकासमा १२ जना विद्यार्थी भर्ना छन् । यहि नै बिद्यालयको सबैभन्दा ठूलो कक्षा हो । अन्य कक्षामा दुई–चार दरले विद्यार्थी छन् । विद्यालयको तथ्यांकमा कक्षा १ मा ६ जना विद्यार्थी भर्ना भएका छन् । त्यसबाहेक अन्य कक्षामा त्यो भन्दा पनि कम संख्यामा छात्रछात्रा छन् । बिद्यालयको हाजिरी रजिष्टरमा कक्षा दुईमा ५ जना, कक्षा तीनमा २ जना, ४ मा ४ जना र कक्षा ५ मा ३ जना विद्यार्थी भर्ना भएको उल्लेख छ ।

विद्यालयका प्रध्यानाध्यापक जीसीले गाउँमै बालवालिका नभएकाले विद्यार्थी कम भएको बताए । उक्त विद्यालयमा साविकको बादीकोट गाविस–९, को डाँडाखर्कका विद्यार्थी यहाँ पढ्न आउने गर्छन् । पहिले गातिना, बडाचौरका विद्यार्थी आउने गर्थे । अहिले नजिकै अन्य विद्यालय खुलेपछि त्यस क्षेत्रका बालवालिका उतै लागेको उनले बताए ।