May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

ढुंगामा उतारिँदै सगरहवाको बुद्धकालीन इतिहास

भैरहवा– प्राचिन शाक्य गणराज्य तिलौराकोट दरबारवाट ६ किमि उत्तरमा छ ‘सगरहवा’ । पूर्व–पश्चिम राजमार्गको बनगाईबाट ७ किमी दक्षिण जगदिशपुर तालको कोखैमा यो स्थान छ । सगरहवा शाक्यहरुको सामूहिक बध गरिएको स्थलको रुपमा विभिन्न बौद्ध साहित्य तथा चिनियाँ यात्रीहरुको यात्रा बृतान्तमा उल्लेख गरिएको छ । यसकारण यो स्थल ऐतिहिासक, धार्मिक र पुरातात्विक हिसाबले निकै महत्वपूर्ण थलो हो ।

Advertisement

त्यही ऐतिहासिक, प्राचिन र पर्यटकीय स्थल सगरहवामा अहिले निर्जिव ढुंगालाई मूर्तिकारहरुले जीवन्त बनाउन लागि परेका छन् । पुस २३ गतेदेखि शुरु भएको मूर्तिकार्यशालामा सहभागी १५ जना मूर्तिकारहरु सगहवामा खटिएका छन् ।

Advertisement

शाक्य गणराज्य कपिलवस्तुको पतनको मुख्यकारण कौशल नरेश बिडुडभको कपिलवस्तु आक्रमणलाई लिने गरिन्छ । विडुडभको आक्रमणले कपिलवस्तु तहसनहस बन्यो । भग्नावशेषमा परिणत भयो । बिढुरक कपिलवस्तु आक्रमण गर्न आउँदा भगवान् बुद्धले दुई पटक रोके तर, तेस्रो पटकमा बुद्धले रोक्न सकेनन् । यो बुद्ध ७५ वर्ष पुगेको बेला भएको बौद्ध साहित्यमा उल्लेख छ ।

यो घटना भएको ठाउँ कपिलबस्तुको सगरहवामा अहिले त्यही कठोर, ऐतिहासिक शान्ति र करुणाको गाथा देखाउन मूर्तिकार्याशाला गरिएको छ । लुम्बिनी विकास कोष, कपिलवस्तु नगरपालिका र नेपाल ललितकला प्रतिष्ठानसहित विभिन्न स्थानीय संघसंस्थाको आयोजनामा कपिलबस्तु राष्ट्रिय मूर्तिकला कार्यशालामा देशभरका ख्याति प्राप्त १५ मूर्तिकारहरुले निर्जिव ढुंगामा सहगरवाको कथा उतार्न व्यस्त छन् ।

निर्जिव ढुंगा त्यतिबेला बोल्दछ, जतिबेला ढुंगाले सगरहवाको तस्विर उतार्नेछ । मूर्तिकार यम थापाले सगरहवाको दुःखद् घटना रोक्न भगवान बुद्धले गरेको आग्रह र अनुरोधलाई मूर्तिमा देखाउन लागि परेको जनाए । ‘सुखेको बृक्षमुनी ध्यानमग्न बुद्ध बनाउन सबैभन्दा ठूलो ढुंगा कुँदिरहे छौं, आकार लिनै थालेको छ’, उनले भने ।

थापा मात्रै होइन, रुपन्देहीका गोविन्द चौधरी गत वर्षदेखि नै सगरहवाको ऐतिहासिक र पुरातात्विक पुस्तक अध्ययन गरेर विडुडभको आकार बनाउने प्रयत्नमा छन् । सगरहवाको सबैभन्दा महत्वपूर्ण पात्र जसले आफूमाथि भएको अपमानको बदला स्वरुप हजारौं शाक्यहरुको बध गरेका थिए । तिनै पात्रलाई जीवन्त बनाउने कोसिसमा चौधरी विगत ६ दिनदेखि प्रयत्नरत छन् ।

‘हामी मूर्तिकारहरु सगरहवाको साझा मौलिकता भल्काउने खालका मूर्तिहरु निर्माणमा जुटरिहेका छौं’, चौधरीले भने । प्रसेनजीत र बासभखत्तिया बीचको विवाह झल्काउने मूर्ति, विडुडभले खाना खाएको आसन दुधले धोएको दृश्य, शुन्यता बोध गराउन मूर्ति, सयौ मान्छेलाई खोलाले वगाएको, पोखरीमा विष हाली माछा मरेको जस्ता मूर्तिहरु बनिरहेका छन् । मूर्तिले आकार लिँदै गएपछि स्थानीयहरु समेत उत्साही बनेका छन् ।

बौद्धकालीन समयको एउटा ऐतिहासिक र पुरातात्विक स्थल सगरहवालाई अन्तर्राष्ट्रियकरण गर्नका लागि लुम्बिनी विकास कोष मुख्य आयोजक भएर कपिलबस्तु मूर्तिकार्यशाला गरिएको कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिरचरण) ले जनाए । ‘अहिले ढुंगामा सगरहवाको ऐतिहासिकता झल्कँदैछ । सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरुको सम्झनामा सयौं स्तुुपहरूको निर्माण गरेको चिनियाँ यात्री हुुयन् साङ्को सन् ६३६ को यात्रा बृतान्तमा उल्लेख गरिएको पाइन्छ । यसैलाई देखाउन खोजिएको हो’, भट्टराईले भने ।

सन् १८९७ मा डा. फुुरर्हरद्वारा गरिएको उत्खनन् तथा अन्वेषणमा शाक्य सेनाहरुको सम्झनामा १७ वटा निर्माण गरिएका ठूूलो वर्गाकार स्तुुपहरु र धेरै संख्यामा साना स्तुुप भेटिएको थियो । स्तुुपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबी जस्ता सामाग्री प्राप्त भएका थिए । यस्तो ऐतिहासिक र प्रचीन स्थलमा प्रस्तरमा कुदिने प्रतिकले सगरहवाको जिउँदो ऐतिहासिकता प्रमाणित गर्नमा थप सहयोग पुग्नेछ । मूर्तिकार्यशाला माघ ८ गतेसम्म चल्ने छ ।