June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

भैरहवा कारागारमा क्षमताभन्दा चारगुणा कैदीबन्दी, पर्खाल नहुँदा सुरक्षा चुनौति

Advertisement

भैरहवा- वरिपरी मजबुत पर्खाल नहुँदा जिल्ला कारागार कार्यालय रुपन्देहीमा सुरक्षा चुनौति थपिएको छ । सामान्य जाली लगाएर कारागार क्षेत्र घेरिएको छ । घेरिएको क्षेत्रमा सबैतिर काँडेतार समेत नहुँदा कैदीबन्दी भाग्ने र अन्य भित्र–बाहिर दुबैतर्फबाट अपराधिक क्रियाकलाप हुनसक्ने जोखिम छ ।

Advertisement

ठुलो र संवेदनशील क्षेत्र भएकाले डाकाचोरी, हातहतियार ओसारपसार, लागूऔषध जस्ता घटना रुपन्देहीमा प्रायः दैनिकजसो हुन्छन् । यस्ता घटनामा संलग्नलाई सधैजसो कारागारमा ल्याइन्छ । कारागार मर्मत गरी सुरक्षावस्था बलियो बनाउनतर्फ भने सम्बन्धित निकायको खासै ध्यान जाने गरेको छैन । ‘यहाँ दैनिक घटना बढी हुन्छन्, कहिलेकाहीँ त राख्ने ठाउँ नभएर प्रहरीकहाँ लग्ने गरिएको छ’, कारागार प्रमुख जगतबहादुर बस्नेतले भने भने, ‘वरिपरी भरपर्दो र मजबुद पर्खाल नहुँदा केही भइहाल्छ की भन्ने चिन्ताले पिरोली रहन्छ ।’ उनकाअनुसार डियूटीमा खटिने प्रहरीलाई झन ठुलो चिन्ता हुन्छ ।

अहिलेसम्म कैदीबन्दी र थुनुवा भाग्ने तथा कुनै अप्रिय घटना नभए पनि कालान्तारमा समस्या ननिम्तिएला भन्न नसकिने कारागार प्रशासनको भनाई छ । ‘हामीले कारागार व्यवस्थापन विभागसँग पर्खाल व्यवस्थित गर्न वा अन्यत्र स्थानान्तरण गर्न भनेर पत्र पठाइसकेका छौं, अहिलेसम्म पर्खाल बनाउने काम अघि बढेको छैन । ओमसतियामा भवन गराएर कारागार स्थानान्तरण गर्नका लागि दिइएको सुझाव समेत कार्यान्वयन भएको छैन’, कारागार प्रमुख बस्नेतले भने, ‘कैदी र थुनुवा ओहोरदोहोर गराउँदा कुनै समस्या निम्तिने हो की भन्ने चुनौति प्रबल छ ।’

ढल निकास नहुँदा दुर्गन्धित छ । वर्षा याममा डुवान हुन्छ । ९० वर्ष पूरानो भवन समयमै मर्मत नहुँदा भवन ठाउँठाउँमा भत्किने, चुहिने र विरुवा उम्रिएर जीर्ण बन्दै गएको छ । टिनका पाताहरु चुहिन्छन् । घर्मी छल्न टीनमाथि खरले छाइिएको छ । तारजाली लगाइएको पर्खालबाट कुनबेला के हुने हो भन्ने चुनौति छ । महिला थुनुवा कक्ष छैन । महिला कैदीबन्दी र थुनुवा भए पाल्पा, नवलपरासी लगायतका जिल्लामा रहेका कारागारमामा पठाउनु पर्ने बाध्यता छ । तत्काल थुनामा राख्नु पर्ने महिला भए टाढाको कारागारमा लैजाँदा थप सुरक्षा चुनौति छ ।

अर्कातर्फ क्षमताभन्दा चारगगुण कैदीबन्दी राख्दा झैझगडा तथा महामारी रोगको खतरा समेत उत्तिकै छ । क्षमताभन्दा बढी कैदीबन्दी राख्दा व्यवस्थापन गर्न निकै समस्या छ । ‘सानो ठाउँमा धेरै थुनुवा हुनु सुरक्षाको अर्को चुनौति हो’, प्रमुख बस्नेतले भने, ‘मिलाएर राख्दाराख्दै पनि सबैको चित्त बुझाउन सकिँदैन, त्यसैले झैझगडा र मारपिट हुने सम्भावना छ ।’ केही पहिले कैदीबन्दी एकआपसमा कुटपिट गर्दा कतिपयलाई चोटपटक समेत लागेको थियो । यस्तै बेलाबेला विभिन्न रोगको महामारी समेत फैलने गरेको छ ।

साँगुरो भवनमा भेडाबाख्रा जस्तै गरी अत्यधिक संख्यामा कैदीबन्दी राखिएको छ । कारागारको क्षमता सय जनाको हो । तर, यहाँ भने ४ सय ९० जना कैदी र थुनुवा राखिएको छ । सबैभन्दा समस्या कोचाकोच गरेर धेरै कैदीबन्दी र थुनुवा एकैठाउँ राख्दा उनीहरुमा छाला तथा भाइरल ज्वरोको प्रकोप समेत देखिने गरेको छ । केही वर्ष पहिला एकैचोटि धेरैको संख्यामा कैदीबन्दीमा छालाको समस्या देखिएको थियो । यस्तै, भाइरल ज्वरो फैलिँदा थुप्रैको संख्यामा विरामी परेका थिए । ‘सानो ठाउँमा धेरै मानिस राख्दा एक व्यक्तिबाट अर्कोमा रोग सरी महामारीको खतारा उत्तिकै छ । सामान्य उपचार यही हुन्छ भने यहाँ नहुनेलाई नजिकका अस्पताल लैजान्छौं’, बस्नेतले भने, ‘भैरहवा गर्मी धेरै हुने ठाउँ भएकाले बढी भाइरलको समस्या देखिने गरेको छ ।’

यहाँ अहिले २ सय ६४ जना कैदी, विभिन्न अपराधमा मुद्दा चलेका तर अदालतबाट मुद्दा फैसला नभएका २ सय २६ जना थुनुवा छन् । यी मध्ये कैदी र थुनुवा गरी ३४ जना विदेशी छन् । उनीहरु सबै भारतीय नागरिक हुन् । भैरहवा सहरको मुख्य भागमा रहेको कारगार स्थानान्तरणको विषय उठेको वर्षौं भयो । सिद्धार्थनगर नगरपालिकाले फोहोर प्रशोधन केन्द्र बनाउन जिल्लाको ओमसतिया गाउँपालिकामा खरिद गरेको जग्गामा कारागार स्थानान्तरण गर्न पहल भइरहेको छ । तर, फाइल पेस गरेको डेढ वर्षसम्म पनि कारागार विभागल कुनै निर्णय गरेको छैन ।

अर्कातर्फ समयमै मर्मतसम्भार नहुँदा वि.सं. १९९० सालमा स्थापना भएको जिल्लाको एक मात्रै कारागार झनपछि झन जीर्ण र अव्यवस्थित त बन्दै गएको छ । यतिसम्म की बलियो र भरपर्दो सुरक्षा पर्खाल समेत नहुँदा सुरक्षा चुनौति बढिरहेको छ ।