May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

जाडोमा स्वास्थ्यः समस्या र सावधानी, भ्रम र यथार्थ

जाडो मौसम आफैंमा कष्टकर हुन्छ। जाडोमा जीवनशैली र खानपानमा हुने परिवर्तनले रोग प्रतिरोध क्षमता घटाउँछ। रोगका लागि अनुकुल मौसमका रुपमा परिणत भइदिन्छ। त्यसैले जाडोमा विशेष सावधानी अपनाउनुपर्छ। जाडोमा हुने समस्याका विषयमा रहेका अनेक भ्रम र गलत मान्यताका कारणले सावधानीको कमी हुन पुग्छ।  

Advertisement

१.    चिसो र रुघाखोकी 
रुघाखोकी बाह्रमासे हो। राइनो भाइरस सधैं सक्रिय रहन्छ तर यसले जाडो मौसममा बढी संक्रमण गर्ने गरेको पाइन्छ। जसका कारण चिसो मौसममा प्रायःले रुघाखोकीको समस्या भोग्ने गरेको पाइन्छ। विशेषगरी जनवरीको पहिलो हप्तादेखि सुरु भएर फेब्रुअरी अन्तिमसम्म अधिकतम रुघाखोकी हुने गरेको छ।
जाडोमा रुघाखोकी बढी लाग्ने विषयलाई लिएर विभिन्न अध्ययन भएका छन्। ती अध्ययनबाट केही नतिजा पनि निस्किएका छन्। भाइरस शरीरमा पुग्ने सबैभन्दा ठूलो गेट–वे नाक हो। नाकमा भाइरसलाई भित्र छिर्न नदिने रोग प्रतिरोधी प्रणाली हुन्छ। त्यहाँ एक प्रकारका कोषिकाहरु हुन्छन्, जसले भाइरसलाई रोकिरहेका हुन्छन्। जाडोको समयमा चिसोले गर्दा त्यसको रोग प्रतिरोधी क्षमता कमजोर बनाइदिन्छ। 
जाडोमा नाकमा सिँगान जम्ने, एलर्जी हुने लगायतका समस्या पनि बढी हुन्छ। त्यसमा भाइरसहरु बस्ने तथा हुर्किने सम्भावना बढी हुन्छ। यिनै कारणले गर्दा जाडोमा रुघाखोकी बढी लाग्ने गर्छ।

Advertisement

१. भ्रम तथा मान्यता 
– चिसो पानीले नुहाउँदा वा चिसो कपाल लिएर बाहिर हिँड्दा रुघाखोकी लाग्छ ?
जाडोमा रुघाखोकीले बढी सताउने कारण माथि उल्लेख भइसक्यो। अब चिसो पानीले नुहाउँदा वा चिसो कपाल सहित बाहिर निस्किँदा रुघा लाग्ने केही भ्रम तथा मान्यताका विषयमा कुरा गरौं। सिधा बुझ्नुपर्ने कुरा के हो भने, चिसो भएकै कारण रुघा लाग्ने हुँदैन। रुघा राइनो भारइसका कारणले लाग्छ। 
चिसो भएका कारण टाउको दुख्ने लगायतका केही समस्या भने आउन सक्छन्। जाडोमा पञ्जा नलगाई बाहिर निस्किँदा हात ठिहि¥याउने, टोपी नलगाउँदा वा हेलमेट नलगाई बाइक चलाउँदा टाउको दुख्ने जस्ता समस्या देखिन्छन्। यसको कारण हो– शरीरमा रक्तसञ्चार जति हुनुपर्ने हो, त्यति चिसोका कारणले हुँदैन। रक्तसञ्चारको बाटो खुम्चिन जान्छ। शरीरको कुनै भाग ठोक्किएर रातो भयो वा सुन्नियो भने आइसले सेक्न सल्लाह दिनुको कारण त्यही हो। चिसोले रक्तसञ्चार घटाउँछ। चिसोका कारण हुने रक्तसञ्चारको कमीले हातखुट्टा दुख्ने र टाउको दुख्ने समस्या हुन सक्छ तर रुघाखोकी लाग्ने होइन।  

– आइसक्रिम, दूध, दही, घ्यु लगायतको सेवनले रुघा तथा फ्लु लाग्छ र लागिसकेको अवस्थामा बढाउँछन् ?
चिकित्साविज्ञान अनुसार भन्नुपर्दा दहीमा हुने प्रोबाइटिक्सले रोग प्रतिरोधी क्षमता बढाउँछ। चिसो वा चिसोजन्य खानेकुराको सेवनले भाइरस शरीरमा छिर्न सहज वातवरण बनाउने मात्रै हो। त्यसैले लक्षण देखिने यस्ता खानेकुराको प्रभाव हुँदैन। स्वस्थ रहेको अवस्थामा यस्ता खानेकुराले शरीरको रोग प्रतिरोधी क्षमता बढाउने नै गर्छन्। रुघाखोकीको लक्षण त भाइरस छिरेपछि मात्रै देखिने हुन्।
यदि रुघाखोकी लागेको छ भने आइसक्रम, दूध, दही, घ्यु जस्ता डेरी प्रोडक्ट नखाएको राम्रो हुन्छ। किनभने, भाइरसले नाकमा मात्रै असर गर्दैन, शरीरको प्रणाली नै कमजोर बनाएको हुन्छ। कतिपय भाइरसले पाचन प्रणालीमा समेत असर गर्छ। त्यस्तो बेला पचाउन सकिँदैन। त्यसले कतिमा बान्ता हुने र पखाला लाग्ने लक्षण समेत देखिने गरेको छ।  स्पष्ट बुझ्नुपर्ने कुरा के हो भने, यस्ता खानेकुरा खाएर हुने होइन, भइसकेपछि खाएको अवस्थामा पचाउन समस्या पर्छ।

– कागती लगायत भिटामिन ‘सी’ पाइने खानेकुरा खाइरहे फ्लु तथा रुघाखोकी जस्ता समस्याले छुँदैन ?
भिटामिन सीले रोग प्रतिरोधी क्षमता बढाउँछ। कागती सामान्यतया मनतातो पानीसँग खाने गरिन्छ। झोल पदार्थको प्रयोगले शरीरलाई फाइदा पुग्छ। त्यसैले यसको लाभ छ। तर भाइरस सर्नबाट जोगाउने भने होइन। भाइरस सर्ने तरिकाका विषयमा हामी सबैै कोभिडका कारण स्पष्ट भइसकेका छौं। 

– मदिराले ठिक पार्छ।
कतिपयले मौसमले च्यालेन्ज ग¥यो भन्दै जाडोमा मदिरा सेवन गर्छन्। जसले शरीरमा न्यानोपन बढेर चिसोजन्य रोगव्याधीले नसताउने मान्यता राख्नेहरु पनि छन्। तर यसले यस्ता समस्या भइसकेकाहरुलाई निमोनिया गराउने सम्भावना अधिक हुन्छ। किनभने, मदिराले रोग प्रतिरोधी क्षमता घटाउँछ र भाइरसको संक्रमण बढाउँछ। बरु तातो झोलिलो खानेकुरा खानुपर्छ। 
 
२. चिसो  र भाइरसजन्य समस्या
– भाइरस चिसोमा बढी सक्रिय हुन्छन्।
सामान्यतया रुघाखोकीको समस्या जनरवरीबाट सुरु हुन्छ। फेब्रुअरीमा पिकमा जान्छ। त्यसपछि विस्तारै घट्छ। हामीले कोभिड पनि देख्यौं। चिसोमै सुरु भएको थियो। कोभिडले अर्काे के सिकायो भने, भाइरस रहने चाहिँ वर्षभरि नै रहेछ। यो भाइरस स¥यो भने गर्मीको समयमा पनि सताउँछ। कोभिड पनि श्वासप्रश्वासको समस्या हो। त्यसैले यहाँ कोभिडलाई उदाहरणका रुपमा प्रस्तुत गरिएको हो। 

– चिसोमा रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ।
जाडोमा भाइरसजन्य रोगले बढी सताउनुको कारण जीवनशैली परिवर्तन हुन्छ, शारीरिक अभ्यास कम गरिन्छ। खानपान परिवर्तन हुन्छ, झोल खानेकुरा न्यून मात्रै खाइन्छ। यी कारणले रोग प्रतिरोधी क्षमता कम भएको हुन्छ। अर्काे, जाडोमा सकेसम्म नजिक भएर बसिन्छ। एउटाले कहीँबाट भाइरस ल्यायो भने सजिलै अर्काेमा सर्न सक्छ। जाडो भाइरसका लागि कसरी सहयोगी हुन्छ भन्ने त सुरुमै उल्लेख भइसकेको छ।

३. रुघाखोकी र फ्लुमा फरक 
रुघाखोकी र फ्लु दुवैका लक्षण समान हुन्छन्। खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, नाक बग्ने र बन्द हुने, थकाइ लाग्ने, जीउ दुख्ने  लगायतका लक्षणहरु देखिन्छन्। रुघा राइनो भाइरसबाट हुन्छ भने फ्लु एन्फ्लुएन्जा नामक भाइरसका कारण हुन्छ। 
राइनो भाइरस सामान्य खालको हो। यसले ज्यानै लिने गरी संक्रमित पार्दैन। यो भएको हप्ता÷दस दिनमा ठिक हुन्छ। उच्च ज्वरो पनि हुँदैन। तर फ्लु घातक हुन सक्छ। रुघाखोकी जस्तै लक्षिण देखिए पनि यसले निमोनियासम्म गराएर मृत्यु समेत हुन सक्छ। उच्च ज्वरो आयो,  एक हप्तामा ठिक भएन, खकार पहेंलो हुन थाल्यो र घ्यारघ्यार हुन थाल्यो भने सचेत हुनुपर्छ। उपचार गराउनुपर्छ। 
यसबाट जोगिनका लागि हरेक वर्ष फ्लुको भ्याक्सिन लगाउनुपर्छ। दीर्घरोगी, वृद्धवृद्धा र बच्चाले अनिवार्य रुपमा भ्याक्सिन लगाउनु राम्रो हुन्छ।  

४. निमोनिया, दम तथा श्वासप्रश्वासका समस्या  
जाडोको मौसममा श्वासप्रश्वास तथा छातीका समस्या बढ्छन्। हाम्रो शरीर प्रकृतिले अनौठो बनाइदिएको छ। जस्तो कि, वातावरणबाट चिसो धेरै आयो श्वासप्रश्वास नली खुम्चिन्छ। धुवाँ, धुलो धेरै आयो भने पनि यो खुम्चिन्छ। फोक्सोसम्म धेरै चिसो, धुवाँ र धुलो पुगेर हानि नगरोस् भनेर श्वास नलीले यस्तो प्रतिक्रिया देखाएको हो। यही प्रक्रिया पनि चिसोको एलर्जी र आस्थमा भएकाहरुका लागि हानिकारक हुन्छ। किनभने, उनीहरुको श्वास नली चाहिनेभन्दा बढी खुम्चिने गर्छ। 
चिसोमा श्वासप्रश्वासको समस्या बढ्ने अन्य कारण छन्। जस्तो, चिसोमा आगो, हिटर ताप्ने र एसिल बाल्ने गरिन्छ। जसले श्वास नली सुख्खा गराउँछ। चिसोमा रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकाले श्वासप्रश्वासको समस्या बढ्दै जाँदा बच्चा र बुढाबुढीमा निमोनिया हुने सम्भावना उच्च रहन्छ। निमोनिया भाइरस, ब्याक्टेरिया र फंगसले गराउँछ। 

५. जाडो र ढाड, हाडजोर्नीको दुखाइ 
जाडोमा ढाड र हाडजोर्नीको दुखाइ बढी हुने गरेको सुनिन्छ। जसको पहिलेदेखि नै छ, उनीहरुको समस्या जाडोमा झन् बढ्छ। नहुनेहरुको पनि जाडोको बेला दुख्ने गर्छ। 
पहिले त शारीरिक अभ्यासको कमीले त्यस्ता समस्या बढाउँछ। जाडो भएका कारण एउटै पोजिसनमा लामो समय बस्ने गरिन्छ र निष्क्रियताले  शरीरका जोर्नी तथा मसल्सहरु लचिलो हुन पाउँदैनन्। जाडोले मसल्समा कडापन पनि निम्त्याउने गर्छ। त्यस कारण ढाड दुख्ने समस्या हुन्छ। 
जोर्नीमा एक प्रकारको तरल पदार्थ हुन्छ। जसले सजिलैसँग खुम्चिन सघाउँछ। चिसोमा उक्त तरल पदार्थ बाक्लो हुन्छ। जसले गर्दा जोर्नीमा दुखाइ महसुस हुन्छ। उदाहरणका लागि हामीले ढोकामा चिल्लो पदार्थ राख्दा आवाज आउँदैन, सजिलै खोल्न र बन्द गर्न सकिन्छ। यदि चिल्लो भएन भने आवाज आउने र खोल्न–बन्द गर्न असहज हुने हुन्छ। धेरैमा देखिने समस्या भने सक्रियताको कमीका कारण हो।

६. टन्सिल, खोकी र स्वर बस्ने 
टन्सिल, खोकी र स्वर बस्ने समस्या प्रायः भाइरसका कारण हुन्छ। जाडोमा भाइरसले बढी सताउनुको कारण माथि उल्लेख भइसक्यो। अन्य कारणले पनि घाँटीमा समस्या आउँछ। हामीसँग घाँटीमा दुई वटा नली हुन्छन्,  एउटा निल्ने र अर्को श्वास फेर्ने। अर्थात् नाकको नली र मुखको नली। बीचमा एक ठाउँ चाहिँ साझा हुन्छ। श्वास फोक्सोतिर जान्छ भने खाना पेटतिर जान्छ। 
हामीसँग ल्यारेन्स र फारेन्स नामक दुई वटा नली हुन्छन्। स्वर बस्नुको कारण ल्यारेन्समा हुने समस्याले हो। अर्थात् ल्यारेन्सले आवाज निकाल्छ। चिसोका कारण भाइरसले भोकल कर्डमा इन्फेक्सन गर्छ। जस्तो, हात भाँचिएको अवस्थामा चलाउन सकिँदैन। भ्वाइस निकाल्ने ठाउँ नै रातो भयो र सुन्नियो भने पनि राम्ररी चलाउन सकिँदैन र आवाज फरक आउँछ। यसलाई ल्यारेन्जाइटिस भनिन्छ। जो धेरै बोल्छ अर्थात् कलाकार, नेता र पत्रकारमा यसको समस्या देखिन्छ। किनभने, उनीहरुले भोकल कर्ड धेरै प्रयोग गर्ने गर्छन्। यसबाट मुक्ति पाउने उपाय केही समय नबोलेर बस्नु नै हो।
मानिसको मुख भित्र घाँटी नजिक दुवैतिर हुने ‘टन्सिल’ नामक ग्रन्थीको संक्रमण नै ‘टन्सिलाइटिज’ हो। वास्तवमा यो ग्रन्थी शरीरको रोग प्रतिरोधात्मक ग्रन्थी हो। टन्सिलाइटिज भाइरस या ब्याक्टेरियाको कारणले हुने गर्छ। 

७. जाडोमा हार्ट अट्याक
मुटुको समस्या पहिलेदेखि नै भएका र स्वस्थ व्यक्ति छुट्याएर हेर्नुपर्छ। पहिलेदेखि नै समस्या भएकाहरुमा जाडोमा अझ बढ्ने सम्भावना हुन्छ। जाडोका कारण शरीर चिसो हुन्छ। तर शरीरले तापक्रम स्थिर राख्नुपर्छ। तापक्रम स्थिर राख्ने काम रगतले गर्छ। रक्तसञ्चारको काम मुटुले गर्छ। जाडो मौसममा शरीरको तापक्रम स्थिर बनाउन मुटुले बढी काम गर्नुपर्ने हुन्छ। अर्थात् बढी रगत पम्प गर्नुपर्छ। जाडोमा मुटुको धड्कन अलिकति बढी हुने कारण पनि त्यही हो। 
शरीरले चिसो भेट्यो भने मुटुले तापक्रम स्थिर राख्न काम गर्नुप¥यो। त्यसका लागि शरीरमा रगत पठाउनुप¥यो। रक्तचाप बढ्ने भयो। पहिले नै उच्च रक्तचाप भएकाको झन् बढ्ने भयो। मुटु आफैंलाई काम गर्न अक्सिजन चाहिन्छ। रक्तसञ्चारमा कमी आउँदै गर्दा मुटुका लागि आवश्यक अक्सिजनको समेत कमी हुन्छ। पहिले नै ३०–४० प्रतिशत ब्लक भएकाहरुमा यस्तो बेला हर्ट अट्याकको समस्या हुन्छ। जाडोमा सक्रियताको कमी र अस्वस्थकर खानेकुरा बढी हुँदा मुटु रोग निम्त्याउने अन्य समस्याहरु पनि बढ्ने हुन्छ। 

८. चिसोबाट मृत्यु अर्थात् हाइपोथर्मिया 
शरीरको निश्चित तापक्रम हुन्छ। सामान्य तापक्रम भनेको ९६ डिग्री सेल्सियसदेखि ९९ बीचमा हो। ९६ भन्दा कम हुँदै गयो भने हाइपोथर्मिया हुन्छ। ९९ भन्दा धेरै भयो भने ज्वरो हुन्छ।  शरीरमा चिसो हुँदै गएपछि रक्तसञ्चार वा रक्तनली खुम्चिन थाल्छन्। मुटुले रगत पम्प गर्छ र हेमोग्लोबिनले अक्सिजन लिएर शरीरभरि फैलिन्छ। चिसोका कारण रक्तसञ्चार रोकिन थालेपछि अक्सिजन पुग्दैन। अक्सिजन नपुगेपछि हातखुट्टा निलो देखिने लक्षण देखिन्छ, जसलाई हामी साइनोसिस भन्छौं। अक्सिजन नै नपुगेपछि विस्तारै कोषिकाहरु मर्न थाल्छन्। 
अर्काेतिर, चिसोले श्वासप्रश्वास नली पनि खुम्चिन थाल्छ। त्यसले फोक्सोमा अक्सिजनको मात्रा कम पुग्ने भयो। मुटुलाई पनि अक्सिजन चाहिन्छ र पम्प गर्न निश्चित रक्तसञ्चार चाहिन्छ। रक्तसञ्चार नभएपछि मुटु आफैं पनि काम गर्न छाड्छ। जसलाई कार्डियाक अरेस्ट भनिन्छ। रक्सी खाएको मान्छे चिसोमा लडेर मृत्यु भएको सुनिन्छ। अहिले जाजरकोटमा भूकम्पपीडितहरुको पनि हाइपोथर्मियाका कारण मृत्यु भइरहेको सुनिन्छ। सडकमा रात बिताउनेहरुको पनि यही कारणले मृत्यु हुने गरेको छ। 
त्यस्तो भेटियो भने तातो ब्ल्यांकेट ओढाउनुपर्छ। तातोपानी खुवाउनुपपर्छ। यदि हाइपोथर्मियाबाट निकाल्न सकिएन भने मृत्युसम्म हुन जान्छ। 

९. चिसोमा आगो, ग्यास गिजर र कार्बनमोनोअक्साइड 
चिसोमा आगो वा हिटर बालेर सुतेकाहरु त्यहीँ बेहोस भएर मृत्यु भएका खबरहरु आइरहन्छन्। नुहाउँदा ग्यास गिजर प्रयोग गरेका कारण बेहोस भएर मृत्यु हुने गरेको सुनिन्छ।  जाडोमा कोठा न्यानो बनाउन प्रयोग गरिने तापबाट कार्बनमोनोअक्साइड भन्ने तत्व निस्किन्छ। यो देख्न पनि सकिँदैन र गन्ध पनि हुँदैन। जस्तो, खाना पकाउने एलपी ग्यास लिक भयो भने गन्हाउँछ। हामी होसियार हुन्छौं। कार्बनमोनोअक्साइड त हामीले श्वासप्रश्वासमार्फत लिइरहेको थाहा नै हुँदैन। यसलाई हामी साइलेन्ट किलर मान्छौं। हामी थाहा नपाएर एक प्रकारको विष लिइरहेका हुन्छौं। एकछिनसम्म त शरीरले पचाउँछ। लामो समयसम्म लिइरहँदा कार्बनमोनोअक्साइड पोइजनिङको तहमा पुग्छ। ब्रेन र अन्य विभिन्न अंगमा पुगेपछि निद्राकै समयमा मानिस बेहोस भइसकेको हुन्छ। यदि कसैले थाहा पाएर निकाल्न सकेन भने उसको मृत्यु हुन्छ।

त्यसैले आगो वा हिटर बाल्दा हावा आउने–जाने प्रणाली (भेन्टिलेसन)को ख्याल गर्नुपर्छ। गिजर चलाउँदा पनि होस गर्नुपर्छ। लामो समयसम्म हिटिङ सिस्टम चालु राख्नु हुँदैन। सुत्दा हिटर लगायत तातोपन दिने कुरा बन्द गर्नुपर्छ । -swasthayakhabar