May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

मायादेवीका स्थानीय भन्छन्– कार्यालयमा जनप्रतिनिधि र कर्मचारी भेटिँदैनन्

भैरहवा– रुपन्देहीको मायादेवी गाउँपालिकाका बासिन्दा तथा सेवाग्राहीले निर्बाचित जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारी आफ्नो कार्यकक्षमा नभेटिने गुनासो गरेका छन् । जनप्रतिनिधि र कर्मचारी आफ्नो कार्यकक्षमा नभेटिँदा काम गर्न निकै समस्या भएको उनीहरुको भनाइ छ ।

Advertisement

लुम्बिनी प्रेस क्लबको सहजिकरणमा मायादेवी गाउँपालिकाको कार्यालय परिसरमा चालु आर्थिक वर्षको पहिलो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानिय बासिन्दाले जनप्रतिनिधि र कर्मचारी नभेटिने बाहेक, मलखादको समस्या, सडक नाली निर्माण, खानेपानी, सार्वजनिक जमिन अतिक्रमण, बातावरण संरक्षण र बिद्यालयमा सार्वजनिक बिदा धेरै दिइने गरेको बिषवस्तुका वारेमा कुरा उठाए ।

Advertisement

जनप्रतिनिधि नभेटिने सवैको गुनासो भने मायादेवी गाउँपालिका–३ का वडाध्यक्ष रफिक खानप्रति थियो । ‘हाम्रो वडा कार्यालयमा वडाध्यक्ष कहिल्यै पनि समयमा भेटिँदैनन् । जरुरी कामका लागि हस्ताक्षर गराउन उनको घरमैं पुग्नु पर्ने बाध्यता छ’, मायादेवी –३ का स्थानियबासी चेतनारायण चौधरीले भने, ‘हस्ताक्षर गराउन उनलाई खोज्दै घर घर पुग्नु पर्ने यो परम्परा कहिलेसम्म हो ?’

वडाध्यक्ष खानको वारेमा कुरा उठाउने स्थानिय वासिन्दा चौधरीमात्र एक्ला होइनन् । धेरैजनाले उनको बारेमा प्रश्न उठाउँदै गुनासो गरे । यहाँसम्मकी केही राजनीतिक दलका प्रतिनिधिले समेत आफ्नो सम्बोधनका क्रममा वडाध्यक्ष खान वडा कार्यालयमा नभेटिने गुनासो अत्यधिक मात्रामा आउने गरेको कुरा सार्वजनिक गरे । तर, स्थानीयले उठाएको गुनासोको जवाफ दिने जिम्मेवारी बोकेका वडाध्यक्ष खान भने आफ्नो जवाफदेहीताबाट पन्छिदै पहिल्यै कार्यक्रम स्थलबाट निस्किसकेका थिए । उनको अनुपस्थितिमा उनी प्रति उठाइएको धेरै सवालको जवाफदेहीता स्वयम् गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले दिनु परेको थियो ।

अध्यक्ष चौधरी समेतले वडाध्यक्ष खान कार्यालयमा नभेटिने गुनासो जनताबाट आउने गरेको र यसबारेमा उनलाई सम्झाइने भन्दै प्रश्नकर्ताहरुलाई आश्वास्त पारेका थिए । नेकपा एमाले मायादेवी गाउँपालिकाका सचिव लाला लोधले ३ नम्बर वडाध्यक्ष खानको अनुपस्थितिको समस्या धेरै आउने गरेको बताए । ‘गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि कार्यालयमा नभेटिने कुरा आउने गरेको छ’, उनले भने, ‘ यि दुवै समस्याको समाधान होस् ।’

वडाध्यक्ष खानको अनुपस्थितिका वारेमा गाउँपालिका अध्यक्ष चौधरीले प्रश्नकर्ताहरुलाई जवाफ दिँदै भने, ‘उहाँलाई नभेटिने वारेमा स्थानीय जनताबाट पहिला पनि गुनासो आउने गरेको छ । अव उहाँलाई जनताको सेवाका लागि नियमित कार्यालयमा समय दिन भनिने छ ।’ यस वारेमा वडाध्यक्षलाई सोध्दा खानले जनताकै कामका लागि हिँड्ने गरेको जवाफ दिने गरेको चौधरीले बताए ।

जनताको सेवा गर्ने भनेर निर्बाचित भएका वडाध्यक्ष खान अधिकांश समय भैरहवास्थित जिल्ला प्रहरी कार्यालयमा प्रहरी अधिकारीहरुसँग व्यस्त रहेको भेटिने गरेको समाचार श्रोतको भनाइ छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थीले भने आफू नियमित रुपमा कार्यालयमा उपस्थित रहने गरेको दावी गरे । ‘म यहाँ आएको ४२ दिन भयो, बिदामा बसेको दिन बाहेक म नियमित उपस्थित छु । र, नियमित धेरै उपस्थित हुनेमध्येमा म पनि पर्छु । यस भन्दा अगाडि के भयो ? त्यो मलाइ जानकारी भएन’, उनले भने, ‘४२ दिनको मेरो उपस्थितिमा ४ वटा बिषयमा पालिका ऐन तयार भैैसकेको छ । यो सामान्य कुरा होइन ।’

उनी बोल्नु अघि मायादेवी–८ का दानबहादुर कुँवरले प्रशासकीय प्रमुख नभेटिने गरेको गुनासो गरेका थिए । ‘सिंह दरवारको अधिकार घरघर आयो भन्न्ने । अनि फेरी काठमाडौं किन गैरहन पर्छ र ?’ उनको प्रश्न थियो । मायादेवी ८ कै स्थानियवासी शंकरप्रसाद ज्ञवाली र बिक्रम सुनारले सार्वजनिक जमिनको संरक्षणका लागि गाउँपालिकाले प्रभावकारी कदम चाल्न नसकेको गुनासो गरे । मायादेवी–३, वरेवाका कृष्णदेव आचार्यले पालिकाको न्यायिक समिति प्रभावकारी हुन नसकेको बताए ।

मायादेवी ६ का प्रभावकर पाण्डेले बिद्यालयमा अत्यधिक मात्रामा छुट्टि दिनाले पढाइ प्रभावित भएको बताए । ‘बर्ष दिनमा ३ महिनाजति छुट्टी हुने गर्छ । तर बिद्यालयले शैक्षिमक शुल्क भने पुरै बर्ष दिन भरिकै लिन्छन्’, उनले भने, ‘सानातिना कार्यक्रममा गाउँपालिकाले सार्वजनिक छुट्टी दिन भएन ।’ यस वाहेक स्थानीयले लुम्बिनी रोडमा बातावरण बिग्रिने र लुम्बिनी जाने मूल सडक भएर पनि पर्यटकलाई असर पर्ने खालका व्यवसायिक कार्य हुने गरेकाले रोक्नु पर्ने माग गरे ।

लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले जनताको सेवा र विकास निर्माण कार्य गर्ने भनेर जनतासंग बाचा गर्दै निर्बाचित भएका जनप्रतिनिधिले के कति काम गरे ? कस्ता कार्यक्रम गर्र्दैछन् ? र ति कार्यक्रम कत्तिको प्रभावकारी छन् ? भन्ने वारेमा जनताबाट मूल्यांकन गर्नका लागि यस्ता सार्वजनिक सुनुवाइ कार्यक्रम प्रभावकारी हुने बताए । ‘यस्ता कार्यक्रमले जनप्रतिनिधिलाई जनताप्रति जवाफदेही बनाउँछ’, रायमाझीले भने, ‘साथै पालिकामा भए गरेका विकास निर्माणका कार्य र योजनाको पारदर्शिता पनि ।’