April 23, 2025, Wednesday
२०८२ बैशाख १०

गुरुङ समुदायले धर्म–संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेलका छन्ः सभामुख घर्तीमगर

बुटवल– लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले तमु ल्होसारको अवसरमा देश–विदेशमा रहेका लुम्बिनी प्रदेशवासी गुरुङ्ग समुदाय एवं गैर गुरुङ्ग समुदायका आमा–बुवा, दिदी–बहिनी, दाजु–भाईहरुमा शुभकामना व्यक्त गरेका छन् । तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष । आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । सभामुख घर्ती मगरले शुभकामना सन्देश जारी गर्दै गुरुङ्ग समुदायले विशेष पर्वको रुपमा मनाउने ल्होसारले समुदायको इतिहास, भाषा, संस्कृति तथा जातीय मौलिकताको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

‘नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त मुलुक हो । यहाँ विभिन्न जात–जातिको आफ्नै भाषा, संस्कृति र मौलिक पहिचान छ । गुरुङ्ग समुदायको आफ्नै पुख्र्यौली थातथलो, भाषा, लिपी र मौलिक संस्कार, संस्कृति, कला बोकेको बहुआयमिक पहिचान जसको आफ्नै जीवन शैली छ’, सभामुखले आइतबार विहान जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ, ‘आदिवासी जनजातिमा सूचिकृत यो समुदायले नेपालको आर्थिक, राजनीतिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको कुरा हामी कहिलै भुल्न सक्दैनौं । विभिन्न जातजाति भाषाभाषी भएको सुन्दर नेपालमा अझै सुन्दरता थप्न यो समुदायको विशेष महत्वपूर्ण भूमिका रहेको छ ।’

Advertisement

उनले विश्व मानचित्रमै गुरुङ्ग समूदायले देखाएको आफ्नो उच्च मनोबल, साहस, बहादूरी अनि बफादारिताले नेपालीको शिर सदैव उच्च राखेको पनि शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

लुम्बिनी प्रदेश सभाले सामाजिक न्याय र सामाजिक सद्भावलाई स्थापित गर्न जातीय, भाषिक र धार्मिक रुपमा उत्पीडित समुदायको भाषिक, धार्मिक र सांस्कृतिक हक अधिकार संरक्षणको लागि कानुन निर्माणमा विशेष ध्यान दिएको सभामुख घर्ती मगरले उल्लेख गरेका छन् । तमु ल्होसारले सम्पूर्ण नेपालीहरुमा आपसी मित्रता, भाइचारा, बन्धुत्व, सद्भाव र सहिष्णुता कायम गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरेका छन् ।