April 22, 2025, Tuesday
२०८२ बैशाख ९

भैरहवामा ल्होसार पर्वको भब्य तयारी

भैरहवा– तमु (गुरुङ) को प्रमुख पर्व तमु ल्होसार भैरहवामा भब्यरुपमा मनाउने गरी तयारी गरिएको छ । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद शान्तिनगर इकाई, भैरहवाले बिभिन्न कार्यक्रम गरि २६०७औं तमु ल्होसार मनाउने तयारी गरेको हो । परिषदले बिहीबार शान्ति बुद्ध गुम्बा, भैरहवामा पत्रकार सम्मेलन गरी पुस १५ गते विशेष कार्यक्तम गरि आफूहरु राष्ट्रिय पर्व मनाउन लागिएको जनाएको छ ।

तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्ष हो । ‘ल्हो’ले वर्ग अथवा वर्ष र ‘सार–छार’ले नयाँ भन्ने बुझाउँछ । गुरुङहरुले विगत २६०७ वर्ष अघिदेखि ल्होसार मनाउँदै आइरहेको बताउँदै आएका छन् । हरेक वर्षको पुस १५ मा गुरुङको वर्ग अर्थात् वर्ष फेरिन्छ । पुस १५ लाई उनीहरुले नयाँ वर्ष र जातीय पर्वका रुपमा मनाउँछन् । ‘ल्हो’ अर्थात् वर्ग १२ वटा हुन्छन् । ती सबै विभिन्न पशुपंक्षीका नाममा राखिएको हुन्छ । हरेक १२ वर्षपछि फेरि सुरुकै वर्ग आउँछ । यो चिनियाँ पात्रोमा आधारित हुन्छ । यसपालि गिद्ध वर्ग परेको छ । गुरुङको हरेक शुभअशुभ कार्य गर्दा वर्ग हेरेर गर्ने गरिन्छ ।

Advertisement

पत्रकार सम्मेलनमा गिद्ध वर्ग (ल्हो) माई स्वागत तथा विरालो वर्गलाई विदाई कार्यक्रम ल्होसार–२६०७ अन्तर्गत मंसिर २६ गते देखि पुस ७ गतेसम्म स्वोरा कार्यक्रम सम्पन्न गरेको परिषदका अध्यक्ष मोहनसिंह गुरुङले जानकारी दिए । सो क्रममा ९ लाख बढी सहयोग जम्मा भएको उनले जानकारी दिए । पर्वको बुधबार मात्रै परिषदले भैरहवाको देवकोटा चोकमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

पुस १४ गते बिहान १० बजे शनिवार नगर परिक्रमा (शान्ति पदयात्रा) एवम् खेलकुद कार्यक्रम सम्पन्न गर्ने परिषदकी सदस्य सावित्री गुरुङले बताइन् । उनले खेलकुद कार्यक्रम महिला, बालबालिका एवम् पुरुषहरुका लागि अलगअलग बिधा राखिएको जनाइन् ।

यस्तै पुस १५ गते बिहान पाठपूजा तथा १० बजेबाट शान्ति बुद्ध गुम्बामा मुख्य कार्यक्रम गर्ने तयारी गरिएको छ । नेपाल सरकारका पूर्वसहसचिव एवं गुरुङ अगुवा अनिल गुरुङले तमु ल्होसारले भाषा, धर्म र संस्कृतिको संरक्षणमा योगदान दिँदै आएको बताए ।

शान्ति बुद्ध गुम्बाका अध्यक्ष आशबहादुर गुरुङ, नन्दा गुरुङ, बिशनसिंह गुरुङ, परिषदकी उपाध्यक्ष धर्मकुमारी गुरुङ, लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझी, क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले आफ्नो पर्व र संस्कृति संरक्षणमा परिषदले खेलेको भूमिका महत्वपूर्ण रहेको जनाए ।