May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

थाइल्याण्डबाट सुत्त पाठ गर्न कपिलवस्तु

लुम्बिनी– थाइल्यान्डबाट आइका ५० जना बौद्धधर्मावलम्बीले कपिलवस्तुमा गौतम बुद्धले प्रवचन दिएको महासमय सुत्त पाठ गरेका छन् । वाणगंगा–८, बालाकण्ठ बराजुस्थित महावनमा त्यहाँबाट आएका भिक्षु, उपासक र उपासिकाले महासमय सुत्त पाठ गरेका हुन् । थाइल्याण्डस्थित महेङसोङ र लम्फुन प्राप्तका पूर्वगर्भनर डा. डिरेक कोनक्लेभ नेतृत्वमा आएको टोलीले उक्त पाठ गरेको हो ।

Advertisement

गौतम बुद्धले ज्ञान प्राप्त गरेर १५ वर्षपछि आउँदा रोहिणी नदीको पानीको विषयलाई लिएर शाक्य र कोलीयबीच झगडा हुँदा सम्झाइबुझाइ महासमय सुत्त पाठ गरेको इतिहास छ । बुद्धको जीवनकालमा एकपटक मात्र देशना गरिएको उक्त सुत्त कपिलवस्तुको महावनमा ज्येष्ठ पूर्णिमाका दिन प्रवचन दिएको बौद्ध इतिहासमा उल्लेख छ । नेपालका भिक्षु सुमंगलो थाइल्याण्ड गएका बेला उक्त स्थलबारे जानकारी दिएपछि थाईहरू यहाँ आउन लालायित थिए ।

Advertisement

विभिन्न पाँच प्रान्तबाट थाइल्याण्डका ठूला निर्माण व्यवसायी, व्यापारी, सेवा निवृत्त सेनाका मेजर, चिकित्सक र सरकारी कर्मचारी यहाँ आएका छन् । मधुवनधामस्थित महावन बौद्ध विहारले संयोजन गरेर उनीहरूलाई यहाँ ल्याएको हो । उनीहरूले यस क्षेत्रको विकासका लागि सहयोग गर्ने बताएका छन् । उनीहरूले भ्रमणका बेला कपिलवस्तु र अर्घाखाँचीका दुई विद्यालयलाई जनही १ लाख २० हजार र खेलकुद सामग्री प्रदान गरेका छन् ।

महासमय सुत्त पाठपछि उनीहरूले कपिलवस्तुस्थित बुद्धस्थल तिलौराकोट, निग्लिहवा र लुम्बिनी भ्रमण गरेका थिए । बुद्धले महावनमा १० हजार चक्रवर्ती देवीदेवता र २ सय ५० कोलीय र २ सय ५० शाक्य राज्यका भिक्षुलाई महासमय सुत्त देशना गरेका थिए । देशनापछि ५ सय भिक्षु अरहन्त बनेको बौद्ध साहित्यमा उल्लेख भएको भिक्षु सुमंगलोले बताए । बुद्धले देशना गरेको महावन चारकोसे झाडीभित्र रहेको उल्लेख छ । त्यसबेला पूर्वीय क्षितिजमा युगन्धर पर्वतबाट चन्द्रमा उदाएको उल्लेख छ ।

बुद्धको देशना सुनेपछि कोही भिक्षु गुफामा बसेर साधना गरेको त्रिपिटकमा उल्लेख भएको बौद्ध अध्येता चतुर्भुज पाण्डेले बताए । बौद्ध साहित्यमा उल्लेख भएका तथ्य यहाँको महावनमा मिलेकाले बुद्धले यही महासमय सुत्त पाठ गरेको उनले दाबी गरे । ‘यो स्थान रोहिणी र राप्ती नदीबीचमा हुनु पर्छ,’ उनले भने, ‘यत्तिको घनाजंगल र भौगोलिक अवस्था मिल्ने स्थान अन्त कतै छैन ।’

यहाँ पुराना भग्नावशेष र पत्थरका मूर्ति जमिनमुनि प्रशस्त छन् । कोपिएका ढुंगा र शिर नभएको मूर्ति पनि पाइएको छ । यहाँबाट करेचुली पर्वतको दक्षिण भागमा पूर्णिमाका नदी चन्द्रमा उदाएको देखिने हुँदा बुद्धले देशना गरेको महावन यहीं रहेको उनले बताए । नदी नजिकै वाणगंगा नदी र गुफा पनि छ ।

बौद्ध साहित्य र भौगोलिक अवस्थाले अहिलेसम्म यसै ठाउँलाई महावन भन्न मिल्ने लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु वजिरले बताए । बाक्लो वन क्षेत्रभित्र सालको घनाजंगलमा वाणगंगा नदीको किनारमा रहेको उक्त स्थलको प्रचार गर्दै पर्यटकीय गन्तव्य बनाउन सूत्त पाठ गरिएको हो । ३ किमि वनभित्र गएपछि उक्त महावन क्षेत्र पर्छ । बुद्धले जेठ पूर्णिमाका दिन उक्त पाठ गरेका थिए । ‘अहिलेसम्मका २७ वटा बुद्धले यो सूत्र देशना गरिसकेका छन्,’ उनले भने, ‘भविष्यमा जन्मिने मैत्रीय बुद्धले पनि गर्ने भविष्यवाणी छ ।’