May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

प्राचीन तिलौराकोटमा पुनः उत्खनन् सुरु

कपिलवस्तु– प्राचीन तिलौराकोटमा पुनः उत्खनन् सुरु भएको छ । भगवान् गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको यो स्थानमा विगत जस्तै यस वर्ष पनि उत्खनन् थालिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

Advertisement

तिलौराकोट क्षेत्रको विभिन्न ठाउँमा उत्खनन् कार्य ४५ दिनसम्म चल्ने पुरातत्व विभागका प्रमुख रामबहादुर कुँवरले बताए । ‘हामीले यो अवधिमा निरन्तर उत्खनन्को कार्य गर्नेछौं’, उनले भने, ‘यसबाट धेरै कुराहरु बाहिर ल्याउन सकिन्छ भन्ने विश्वास छ ।’

Advertisement

उत्खननमा बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोष र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञ सहभागी छन् । तिलौराकोटको पूर्वी द्वार अगाडिको संरचना, कन्थक स्तूप नजिकै भेटिएका विहार र पोखरीको अनुसन्धानसमेत थालिएको उनले जानकारी दिए ।

विगत वर्षमा मुख्य दरबार क्षेत्र, उत्तरी द्वार, मौर्यकालीन पोखरी, समयमाई मन्दिर पछाडि, शिवगढ, कन्थक स्तूपलगायत क्षेत्रमा उत्खनन गरिएको लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताए । यसपटक तिलौराकोटमा भौगर्भिक सर्भेलगायत कार्य गर्ने योजना पनि रहेको कुँवरको भनाई छ । ‘हामीले उत्खनन्का साथै गौगर्भिक सर्भे गरेर थप जानकारी बाहिर ल्याउने छौं’, कुँवरले भने ।