May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

जगदगुरु पीठ निर्माणका लागि ज्ञान महायज्ञ

भैरहवा– रुपन्देहीको भैरहवामा जगदगुरु पीठ निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । जिल्लाको ओमसतिया गाउँपालिका–४, बालापुरस्थित डण्डा खोला छेउमा पीठ निर्माण गर्ने तयारी गरिएको छ । पीठ निर्माणमा आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो ।

Advertisement

महायज्ञ मूल आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी पीठ निर्माणका लागि माघ ४ गतेदेखि १२ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ गर्न लागिएको जानकारी दिएका हुन् । महायज्ञ मूल आयोजक समिति संयोजक विष्णु रायमाझीले बालापुरमा रहेको नवदुर्गा मन्दिर परिसरमा पीठ निर्माण गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको बताए ।

Advertisement

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित र ख्याती प्राप्त विद्वानबाट महायज्ञमा धार्मिक कथा वाचन हुने बताए । ‘हाम्रो उद्देश्य पवित्र छ, यहाँ हामीले राम्रो र अत्याधुनिक पीठ निर्माण गर्न चाहेका छौं’, उनले भने, ‘यो पवित्र कार्यमा यस क्षेत्रका धेरै नागरिकहरु सहभागी भएर दान गर्नुहुनेछ भन्ने विश्वास छ ।’ उनले नेपालका प्रथम ऐतिहासिक जगद्गुरु अनन्त श्री विभूषित श्री बालसन्त मोहनशरण देवाचार्यको उपस्थितिमा महायज्ञ हुने जनाए ।

‘जगद् गुरुले नेपालका चार ठाउँमा पीठ बनाउने सपना देख्नुभएको छ । जसअनुसार पूर्वमा चतुराधाम, उत्तरमा मुस्ताङमा र पश्चिममा महेन्द्रनगरमा धाम निर्माण भइसकेको छ । अब दक्षिणमा भैरहवामा निर्माण गरिने छ’, रायमाझीले भने, ‘यो भैरहवाबासीका लागि खुशीको कुरा हो । यसमा हामी सबैले साथ र सहयोग दिनुपर्छ ।’

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले नेपालकै ऐतिहासिक जगद् गुरुले आफ्नो पीठ बनाउन भैरहवालाई रोज्नु यस क्षेत्रका लागि खुशीको कुरा भएको बताए । ‘जगद् गुरु भैरहवा आउनु नै शौभाग्य हो, यसैमाथि यहाँ पीठ बनाउने समान्य कुरा होइन्’, उनले भने, ‘पीठ बनाउने सपना साकार पार्न सबैले तन, मन र धनलेसहयोग गरौं । म पनि पीठ निर्माण सहयोग गर्ने छु ।’ उनले पीठ निर्माण सुरु भएपछि आफूले व्यक्तिगत रुपमा एक लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए । स्थानीय सरकारका तर्फबाट पनि सहयोग गर्ने उनले जनाए । खानले सबै धर्मप्रति सम्मान गर्दै धार्मिक गतिविधि बढाउनुपर्नेमा जोड दिए । उनले महायज्ञमा सरिक भएर दान गर्न भैरहवाबासीलाई आग्रह गरे ।

नेपालका प्रथम जगद् गुरु मोहनशरण देवाचार्यले आफूले धार्मिक विकास र यस क्षेत्रको पर्यटन विकासलाई ध्यान दिएर भैरहवामा पीठ निर्माण गर्ने लक्ष्य राखेको बताए । पीठ निर्माणलाई सार्थकता दिन महायज्ञ गर्न लागिएको उनले जनाए । ‘वेदमा के वस्तु प्रतिपादन छ भन्ने कुरा कसैलाई थाहा छैन । यो वेदलाई प्रतिस्थापन गर्ने पीठका रुपमा स्थापित गर्न, सनातन धर्मको दिगदिगन्त किर्ती फैलाउने पीठका रुपमा स्थापना गर्ने लक्ष्य साथ यहाँ पीठ निर्माण तयारी थालिएको हो’, उनले भने । उनले यहाँ पीठ निर्माण पछि विश्वबाट लुम्बिनी, मुक्तिनाथ, पशुपति लगायतका महत्वपूर्ण स्थल हेर्न र तीर्थाटन गर्न आएका बैदिक सनातन धर्मका उपासकहरुलाई एक रात राखेर अभिनन्दन र भोजन गराउने उद्देश्य रहेको बताए ।

उनले यहाँ पीठ निर्माण भए धार्मिक पर्यटकको आगमन बृद्धि भइ मुलुकको आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘भारत लगायत विश्वभरबाट भैरहवाको पीठमा तीर्थयात्री आउनुहुनेछ, यसले यहाँको आर्थिक विकासमा सहयोग पुग्ने छ’, उनले भने, ‘त्यसका लागि सबैले जे सकिन्छ, जति सकिन्छ सहयोग गरौं ।’ उनले महायज्ञमा उठेको एक रुपैयाँ रकम पनि आफूले नलग्ने जनाउँदै सबै रकम पीठ निर्माणका लगाइने बताए । ‘मलाई नेपाल सरकारले नै धाम बनाइदिएको छ, देश–विदेशमा धेरै धामहरु छन्, जहाँ गएर बसे पनि हुन्छ’, उनले भने, ‘मेरो लक्ष्य चार धाम बनाउने हो, तीन धाम बने, अब भैरहवामा पनि बनाउँछौं ।’

महायज्ञलाई सफल पार्न भैरहवा र रुपन्देहीबासीको महत्वपूर्ण योगदान हुने भन्दै सबैलाई सहभागी उनले आग्रह गरे । मूल आयोजक समितिका अनुसार महायज्ञमा अन्तर्राष्ट्रिय ख्याती प्राप्त विद्वान् आचार्य श्री पुरुषोत्तम सापकोटाले कथा प्रवचन गर्नेछन् भने कथा ब्यास डा.यादवशरण गड्तौलाले पाठ–पारायण गर्ने छन् । महायज्ञबाट उठेको रकमबाट जग्गा खरिद, मन्दिर निर्माण र आवासगृह बनाउने तयारी गरिएको छ ।