May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

धार्मिक कार्यक्रम आयोजनाले होटल व्यवसायी उत्साहित

लुम्बिनी– भारतका आध्यात्मिक व्यक्ति मुरारी वापुबाट माघको अन्तिम साता बुद्ध जन्मस्थल लुम्बिनीमा हुने नौं दिने धार्मिक कार्यक्रमबाट स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् ।

Advertisement

उक्त कार्यक्रमका लागि माघको २१ देखि २९ गतेसम्म लुम्बिनीका अधिकांश होटल बुक भएपछि व्यवसायी उत्साहित बनेका हुन् । यस भन्दा अघि कोरोनाका कारण त्यहाँ होटल बर्षौंसम्म थलिएकाले पूर्ण क्षमतामा संचालन हुन पाएको थिएनन् । मुरारी बापुबाट लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभाहलमा ‘रामकथा प्रबचन’ सहितको धार्मिक कार्यक्रम संचालन हुने भएको हो ।

Advertisement

लुम्बिनी होटेल संघ नेपालका अध्यक्ष गोबिन्द ज्ञवालीले उक्त धार्मिक कार्यक्रमका लागि लुम्बिनीका दुई दर्जन भन्दा धेरै होटल बुक भैसकेको र होटेल बुक हुने क्रम जारी रहेको बताए । ‘यसबाट व्यवसायीलाई धेरै राहत दिने छ’, ज्ञवालीले भने, ‘कोरोना संक्रमण सुरु भएपछि लुम्बिनी एकै पटक यति धेरै होटल बुक भएको यो पहिलो पटक हो ।’

मुरारी वापुको यो कार्यक्रम सन् २०१९ मा पनि लुम्बिनीमा तय गरिएको थियो । तर, कोरोना संक्रमण विश्वव्यापी हुन थालेपछि स्थगित गरिएको थियो । कार्यक्रम सफल बनाउका लागि गठित रामकथा प्रेम यज्ञ समितिका संयोजक अनिल मिश्रले भारत र विभिन्न तेश्रो मुलुकबाट पनि कार्यक्रममा सहभागी हुने जानकारी आइरहेको र तत्कालका लागि २ हजारलाई बस्ने व्यवस्था स्थानीय होटलमा मिलाइएको बताए । ‘आगन्तुक बढेमा त्यही अनुपातमा थप व्यवस्था मिलाइने छ’, उनले भने ।

मिश्रका अनुसार माघ २१ क दिन मुरारी बापु भारतको दिल्लीबाट एउटा चार्टर बिमानद्वारा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने कार्यक्रम तय भएको छ । यस धार्मिक कार्यक्रमको भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट कार्यक्रम अवधि भर १ सय ७० देशमा पुग्नेगरि प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ ।

रामकथा प्रबचनको साथमा भगवान बुद्धको जीवनीमा आधिरित नाट्य कथा तथा सांस्कृतिक कार्यक्रमको पनि तयारी गरिएको छ । कार्यक्रम स्थलको हलमा आवाज धेरै गुञ्जिने (इको) समस्या देखिएकाले समाधानका लागि मुम्बइदेखि प्राविधिक टोलीलाई बोलाइएको छ ।

प्रत्येक दिन दिनको तीन पटकसम्म ५ हजार भन्दा धेरैलाई निःशुल्क खानाका लागि भण्डाराको प्रबन्ध मिलाइएको र भण्डारामा जतिसक्दो धेरैजनालाई सहभागी गराउन सवैमा आग्रह गरिएको मिश्रले बताए ।