November 28, 2023, Tuesday
१२ मंसिर २०८०, मंगलवार

तिलौराकोटको पूर्वी गेट र बाहिरी भागमा उत्खनन् सुरु

लुम्बिनी– प्राचीन कपिलबस्तुको राजधानी तथा गौतमबुद्धको क्रिडास्थल तिलौराकोट क्षेत्रमा थप अन्वेषणका लागि उत्खनन् सुरु भएको छ । यूनेस्को जापानिज फण्ड इन ट्रष्टको सहयोगमा पुरातात्व विभाग, बेलायतको दुर्हम विश्व विद्यालय र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविदहरुले कार्तिक १४ गतेदेखि तिरौलाकोट क्षेत्रमा उत्खनन् सुरु गरेका हुन् ।

Advertisement

पुरातत्वविद् पी.सी. मुखर्जीले सन् १८९९ मा प्राचीन तिरौलाकोट दरबारको पूर्वी ढोका पत्ता लगाएका थिए । मुखर्जीले पत्ता लगाए अनुसार प्राचीन सुरक्षा पर्खालको वरिपरि नहर (मुड) रहेको र बाहिरी भागमा नदी लगायतका संरचना रहेको उल्लेख गरेकाले सो क्षेत्रमा बैज्ञानिक रुपमा अन्वेषण गर्न उत्खनन् सुरु गरिएको दुर्हम विश्वविद्यालय बेलायतका प्राध्यापक डा.रविन कनीङघम्ले जानकारी दिए ।

Advertisement

प्राध्यापक डा.रविनको नेतृत्वमा उत्खनन् सुरु गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । उत्खननबाट प्राप्त प्रमाणलाई आधुनिक प्रविधिको प्रयोग गरि अनुसन्धान गरिने कोषले बताएको छ । सन् २०१४ देखि यूनेस्को जापानीज् फण्ड इन ट्रस्टले वैज्ञानिक रुपमा विभिन्न उपकरण प्रयोग गरि तिलौराकोट र लुम्बिनीमा पुरातात्विक अध्ययन गर्दै आएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए ।

तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचिकृतका लागि कोषले पहल गरिरहेको बताउँदै उनले उत्खननबाट थप प्रमाणहरु भेटिने बताए । ‘अन्तर्राष्ट्रिय विज्ञहरुसहितको टोलीले वैज्ञानिक रुपमा उत्खनन् थालेको छ, यसबाट धेरै कुराहरु पत्ता लाग्ने छ’, उनले भने । प्राचीन सुरक्षा पर्खालको वरिपरि रहेको नहर र पूर्वी गेटभन्दा बाहिरको संरचना क्षेत्रमा प्राचीन समयमा नदी रहेको सेल देखिएकाले उत्खनन् गरिएको लुम्बिनी विकास कोषका पुरातात्व शाखाका प्रमुख हिमाल उप्रेतीले बताए ।

गत वर्ष उत्खनन गरि छोपेर राखेको दरबार क्षेत्रको भग्नाशेषको पुन उत्खनन् गरि बाँकी रहेका क्षेत्रहरुको अन्पेषण गरिने उनले बताए । गत वर्ष पूर्वीकिल्लाका सहायक संरचनाबारे जियोफिजिकल (भू–भौतीक) सर्वे गरिएको थियो । उक्त सर्वेक्षणमा पिसि मुखर्जी उल्लेख गरे अनुसारका संरचना देखिएको उप्रेतीले बताए । पूर्वी किल्ला भित्र र पर्खाल बाहिर गरिएको उत्खननमा भेटिएका इट्टाको साईज, भाँडाकुडाका टुक्रा, माटाका मूर्तीहरु, सिक्काहरु, कोइलाहरु, बनस्तपतीका अवशेषहरुको बैज्ञानिक तरिकाले अनुसन्धान गरेर काल (बर्षको अवधी) निर्धारण गरिने पुरातात्व प्रमुख उप्रेतीले जनाए ।

उनका अनुसार विश्वमा पछिल्लो प्रविधि प्रयोग गरि उत्खनन गरेर अनुसन्धान गरिएको छ । दुर्हम विश्वविद्यालय बेलायतका प्राध्यापक डा.कनीङघम्को नेतृत्वमा सुरु गरिएको उत्खननमा पुरातात्व विभागका रामबहादुर कुँवर, भाष्कर ज्ञवाली, विष्णु पाठक, लुम्बिनी विकास कोषका ज्ञानिन राई, हिमाल उप्रेती र राजन बस्नेत लगायतको टोली उत्खननमा खटिएको हो । उत्खनन् आगामी मंसिर १६ गतेसम्म चल्ने कोषले जनाएको छ ।