एनइएको सभापतिमा निर्वाचित श्रेष्ठ को हुन् ?
भैरहवा– नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) लुम्बिनी प्रदेशको सभापतिमा ई.शैलेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । एसोसिएसनको दोस्रो कार्यकारिणी समितिको निर्वाचनबाट श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् ।
लोकतान्त्रिक समूहका साझा उम्मेदवार श्रेष्ठले ४ सय ९९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी जीवन अर्यालले ४ सय १६ मत प्राप्त गरेका थिए । सभापति निर्वाचित भए पछि श्रेष्ठले संस्थाको गरिमालाई उच्च राख्दै काम गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘संस्थाको गरिमा सधै माथि उठाउने छु, यसमा आबद्ध साथीहरुको बृद्धि विकास र हीतमा काम गर्नेछु ।’
को हुन् श्रेष्ठ ?
रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर नगरपालिका–१२ का स्थायी बासिन्दा श्रेष्ठ केही महिना अघि मात्रै अवकास प्राप्त सरकारी कर्मचारी हुन् । ५८ वर्षीया श्रेष्ठले २७ वर्ष सिद्धार्थनगर नगरपालिकामा काम गरे । धरान नगरपालिकामा ३ वर्ष काम गरेका थिए । उनी बरिष्ठ इन्जिनियरबाट अवकास पाएका हुन् ।
सरल र मृदुभाषाी श्रेष्ठ इन्जिनियरिङ क्षेत्रमा राम्रो दख्खल राख्छन् । सिद्धार्थनगरमा एकीकृत सहरी विकास आयोजना र क्षेत्रीय सहरी विकास आयोजना ल्याउन र सफल बनाउन उनको ठूलो योगदान छ ।
२०२० असोज २८ मा बाग्लुङमा जन्मिएका श्रेष्ठको बाल्यकाल र स्कुले पढाई बाग्लुङमै वित्यो । पढाईमा अब्बल भएकै कारण श्रेष्ठले आफ्नो सबै अध्ययन छात्राबृत्तिमा पुरा गरे । २०५३ सालमा एसएलसी गाउँबाटै उत्तीर्ण गरेका श्रेष्ठले काठमाडौंस्थित पुल्चोक क्याम्पसबाट इन्जिनियरिङ प्रमणपत्र तह उत्तीर्ण गरेका थिए ।
त्यसपछि नेपाल सरकार स्थानीय विकास मन्त्रालयअन्तर्ग ओभरसियर पदमा कार्यरत हुँदै गर्दा स्नातक र स्नाकोत्तर तह अध्ययनका लागि शिक्षा मन्त्रालयबाट पूर्ण छात्रवृत्ति पाएका श्रेष्ठले तत्कालीन सोभियत संघ, हाल युक्रेनबाट इन्जिनियरिङ पढाई पूरा गरेका हुन् ।
स्नातकोत्तर तहको अध्ययन पश्चात् २०४८ सालमा नेपाल फर्किएका उनी धरान नगरपालिकामा ३ वर्ष काम गरे । त्यसपछि २०५१ सालमा सिद्धार्थ नगरपालिमा प्रवेश गरेका उनले १० वर्ष एकीकृत सहरी विकास आयोजना र क्षेत्रीय सहरी विकास आयोजनाको प्रमुख भएर काम गरे ।
एशोसिएसनको लुम्बिनी च्याप्टरमा २ कार्यकाल सदस्य र एक कार्यकाल सचिव भएर काम गरेका थिए । नेपाल भ्यालुअर्स एसोसिएसन लुम्बिनी च्याप्टरको अध्यक्षसमेत रहेका श्रेष्ठले करिब ४ वर्ष लुम्बिनी इन्जिनियरिङ कलेजमा अध्यापन पनि गरेका थिए ।
उनले हाल रुपन्देही लीलाराम न्यौपाने माविमा इन्जिनियरिङ सम्बन्धी विषय निःशुल्क अध्यापन गराउँदै आएका छन् । उनी सिद्धार्थ जेसिस, नेपाल रेडक्रस, सिद्धार्थ उद्योग बाणिज्य संघ जस्ता संघसंस्थामा आबद्ध भएर सेवा गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस्