December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

छठको दोस्रो दिन आज खरना

भैरहवा– हिन्दुहरुको पर्व छठको दोस्रो दिन आज व्रतालुहरू खरना गरिरहेका छन् । कडा बिधिबिधान तथा धार्मिक नियमपूर्वक जनविश्वासका साथ मनाइने चार दिवसीय आस्थाको पर्व छठ हिजो (सोमबार)देखि शुरु भएको हो ।

Advertisement

हिन्दु धार्मिक मान्यताअनुसार छठ वर्षमा दुई पटक कार्तिक र चैत्रमा अत्यन्तै निष्ठापूर्वक मनाइन्छ । कार्तिक शुक्ल चतुर्दशीका दिनदेखि शुरु हुने सूर्य उपासनाको पर्व छठलाई तराई मधेश तथा मिथिलांचलमा महापर्व पनि भनिन्छ ।

लोक पर्व छठको आज दोस्रो दिन व्रतालुहरू नुहाइधुवाइ गरी शुद्ध भई पूजाका सामग्री तयार गरिरहेका छन् । छठ व्रत गर्ने व्रतालु​ महिला तथा पुरुषहरूले हिजो चोखो अरवा चामलको भात, चना, रहरको दाल, फर्सी, लौकाको तरकारी खाएर छठ पर्व सुरु गरेका हुन्। छठपर्वको पहिलो दिनलाई नहाए खाए भनिन्छ ।

दोस्रो दिन आज खरनामा व्रतालुहरू बिहानैदेखि निर्जला रही बेलुका नयाँ माटोको चुल्होमा प्रसादको रुपमा साठी धानको चामल र गाई भैंसीको दुधको खीर र गहुँको पिठोको रोटी पकाई छठी मातालाई चढाउँछन् । र, त्यही प्रसाद खाने गर्दछन् । त्यसपछि ब्रतालुहरु ३६ घण्टा लामो निर्जला पानी समेत नखाएर निराहार व्रत शुरु हुनेछ ।

छठ पर्व अन्तर्गत भोलि बुधवार बेलुका अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइने र पर्सिपल्ट बिहीवार बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिएपछि चार दिनको छठ विधिवत रुपमा सकिन्छ ।

छठको अवसरमा भैरहवाको गल्लमण्डीमा रहेको छठ पोखरी सिंगारिएको छ । यस्तै, वडानम्बर १३ स्थित नेपाली सेनाको कम्पाण्डमा रहेको पोखरी पनि सिंगारिएको छ । यस्तै, रुपन्देहीका नदी छेउमा पनि छठ पुजाका लागि स्थल तयार गरिएको छ । जिल्लाको बेथरीस्थित तिनाउ नदी, दानव, रोहिणी लगायत नदी किनारमा पुजाअर्चनाका लागि भव्य तयारी गरिएको छ ।