April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

कम्युनिष्टप्रति खनिए धर्मगुरु निश्चलानन्द

भैरहवा– हिन्दु धर्म गुरु एवं भारतको, उडिसा, जगन्नाथपुरीस्थित गोबद्र्धन पीठका प्रमुख जगतगुरु शंकराचार्य स्वामी निश्चलानन्दले नेपालका कम्युनिष्टहरू बाहिरबाट नास्तिक रहेको देखाए पनि भित्रबाट उनीहरु धर्मप्रति आस्तिक रहेको टिप्पणी गरेका छन् ।

Advertisement

विश्व ओमकार एकता महाअभियानको आयोजनामा सोमबारबाट भैरहवामा सुरु आध्यात्मिक जागरण बिराट एकता धर्मसभामा बोल्दै निश्चलानन्दले भने, ‘प्रचण्ड र केपी शर्मा ओली दुबैजना नेता हिन्दू धर्मप्रति आस्थावान् हुनुहुन्छ । कम्युनिज्मको अनुयायी रहेकाले नास्तिकको नक्कल गरिरहनुभएको छ ।’

Advertisement

उनले हिन्दु राष्ट्रबारे यहाँका कम्युनिष्टहरु पनि राजी भए पनि बाहिरबाट खुलेर लाग्न नसकेको बताए । ‘कम्युनिस्टहरुले धर्मनिरेपेक्षता ल्याए । तर, यो शब्ल होइन । कुनै धर्मविनाको स्वतन्त्रता हुँदैन’, उनले भने । सनातन धर्म अवलम्बन गरेर व्यक्ति वा समाजको विकासमा अवरोध नहुने शंकराचार्यले बताए । भौतिक उत्कर्षका लागि पनि नेपाल हिन्दू राज्य हुनुपर्ने उनले बताए ।

‘भौतिक र आर्थिक होडबाजीले विश्व अशान्त बनेको छ । कर्मकाण्ड र ज्ञानकाण्डको माध्यमले त्यस्तो तँछाडमछाडलाई शान्त बनाउन सक्छ’, उनले भने । कुनै ब्यक्ति वा बस्तु एक क्षणको लागी पनि धर्म निरपेक्ष हुन नसक्ने दावी गरे । ‘यसर्थ धर्म निरपेक्ष भनेको एक शब्द मात्र हो । यसको कुनै अर्थ छैन’, उनले भने, ‘सबै धर्महरुको मूल धर्म सनातन धर्म नै हो । यसको शान्तिपूर्वक प्रचारका लागि सबै लाग्न आग्रह गर्छु ।’

हिन्दुहरुका सर्वोच्च धर्मगुरु मानिएका निश्चलानन्दले नेपाल यस अघि पनि हिन्दु राष्ट्र रहेको, अहिले पनि हिन्दु राष्ट्र रहेको र भविष्यमा समेत हिन्दु राष्ट्र नै रहने दावी गरे । उनले नेपालबाट हिन्दू राष्ट्र बनाउने अभियान सुरु गरि यो अभियानलाई एशिया महाद्विपसम्म नै पुर्याउने बताए ।

विभिन्न विषयमा करिब ५ सय भन्दा बढी पुस्तकका लेखक समेत रहेका निच्चलानन्द हिन्दुधर्मका जिवित गुरुहरु मध्ये सबैभन्दा उच्च पदमा रहेका धर्म गुरु मान्निछन् । भारतका चर्चित र सबैभन्दा उच्च तहका हिन्दू धर्मगुरु उनले धर्मसभामा प्रवचन दिँदै हिन्दुराष्ट्र नेपाल सुरक्षित रहे मात्र भारतको सुरक्षा हुनसक्ने जिकिर गरे । चीनको आँखा नेपालमा रहेको र चीनबाट नेपाल असुरक्षित भए यसको असर भारतमा समेत पर्ने उनको भनाई छ ।

पछिल्लो समय नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्ने आवाज बलियो हुँदै गएको छ । ठूला राष्ट्रिय राजनीतिक दलले मुख्य एजेण्डा हिन्दू राष्ट्र नबनाए पनि दलसँग आबद्ध कयौं प्रभावशाली नेताहरुले नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्ने अभिमत राख्दै आएका छन् । यस्तो अवस्थामा नेपालभरका धर्मगुरु भैरहवामा जम्मा भएर नेपाललाई हिन्दू राष्ट्र बनाएरै छाड्ने अठोट लिएका हुन् ।

नेपालका वैदिक, बौद्ध, जैन, सिख, किराँत, बोनलगायत सनातन ओमकार परिवारका एक सय जना भन्दा धेरै विभिन्न धर्मगूरु भैरहवा आएका छन् । धर्मसभाबाट कुनै जाती, सम्प्रदाय र राजनीति अभिप्रेरित नभएको आयोजकको दावी छ । विशुद्ध नेपाललाई हिन्दु राष्ट्र बनाउन सभा केन्द्रिय भएको धर्मगुरुहरुले जनाए । सनातन हिन्दू राष्ट्र पुनस्र्थापनासँगै हिन्दू धर्म संस्कृतिभित्र रहेका ओमकार परिवारबीच एकताको अभियान संचालन गर्ने मुख्य उद्देश्य धर्म सभाको भएको धर्मगुरु डा.चिन्तामणि योगीले बताए । धर्मसभामा निश्चलानन्दलाई अभिनन्दनसहित सम्मानसमेत गरिएको थियो । सभा भोलि सकिँदैछ ।