April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

भैरहवामा धर्मसभा, हिन्दु राष्ट्र पुनःस्थापना मुख्य एजेण्डा

भैरहवा– पछिल्लो समय नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्ने आवाज बलियो हुँदै गएको छ । ठूला राष्ट्रिय राजनीतिक दलले मुख्य एजेण्डा हिन्दू राष्ट्र नबनाए पनि दलसँग आबद्ध कयौं प्रभावशाली नेताहरुले नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्ने अभिमत राख्दै आएका छन् ।

Advertisement

यस्तो अवस्थामा नेपालभरका धर्मगुरु भैरहवामा जम्मा भएर हिन्दू धर्मका प्रशिद्ध गुरु भारतको, उडिसा, जगन्नाथपुरीस्थित गोबद्र्धन पीठका प्रमुख जगतगुरु शंकराचार्य स्वामी श्री निश्चलानन्दनलाई भैरहवामा ल्याएका छन् । धर्म गुरुहरुले नेपाललाई हिन्दू राष्ट्र बनाएरै छाड्ने अठोट लिएका छन् ।

Advertisement

नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने अभिमत बढीरहेकाबेला नेपालभरका धर्म गुरु भैरहवामा जम्मा भएका हुन् । आज र भोलि ओमकार परिवारको भैरहवामा हुने बिराट धर्म सभामा सहभागी हुन मुलुकभरिका सबै हिन्दू धर्मसँग सम्बन्धित संघसंस्थाका प्रमुख तथा मन्दिर एवं पीठका पीठाधिसहरु र धर्मगुरु भैरहवा आएका हुन् ।

विभिन्न विषयमा करिब ५ सय भन्दा बढी पुस्तकका लेखक समेत रहेका निच्चलानन्द हिन्दुधर्मका जिवित गुरुहरु मध्ये सबैभन्दा उच्च पदमा रहेका धर्म गुरु मान्निछन् । भारतका चर्चित र सबैभन्दा उच्च तहका हिन्दू धर्मगुरुसहित नेपाली धर्म गुरुले भैरहवामा आयोजित धर्मसभामार्फत् नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियान थालनीको सन्देश दिन खोजेका छन् ।

‘हिन्दू राष्ट्र पुनस्र्थापनासँगै हिन्दू धर्म संस्कृतिभित्र रहेका ओमकार परिवारबीच एकताको अभियान संचालन गर्ने मुख्य उद्देश्य धर्म सभाको हो’, धर्मगुरु एवं आयोजक समिति सदस्य ब्यासमुनि आचार्य किशोर गौतमले भने, ‘अब नेपालका नताहरुमा सदबुद्धि आउनुपर्छ । नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ ।’ उनले जसरी पनि नेपाल अब हिन्दु राष्ट्र बनाएरै छाड्ने बताए ।

धर्मसभामा जगतगुरु शंकराचार्यले आज विशेष धर्मवचन दिनेछन् । रुपन्देहीको कक्रहवा नाका हुँदै नेपाल आएका उनी मंगलवार सुनौली नाका हुम्दै भारततर्फ प्रस्थान गर्ने छन् । नेपालका वैदिक, बौद्ध, जैन, सिख, किराँत, बोनलगायत सनातन ओमकार परिवारका करिब एक सय जना भन्दा धेरै विभिन्न धर्मगूरु भैरहवा आइसकेको कार्यक्रम संयोजक कृष्णप्रसाद शर्माले बताए ।

धर्मसभाबाट कुनै जाती, सम्प्रदाय र राजनीति अभिप्रेरित नभएको आयोजकको दावी छ । ‘विशुद्ध नेपाललाई हिन्दु राष्ट्र बनाउन सभा केन्द्रिय हुने छ’, गौतमले भने । नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको डेढ दशक भइसकेको छ । संविधानमै धर्मनिरेपक्ष राष्ट्र लेखिएको छ । तर, लामो समयदेखि हिन्दू धर्मगुरुहरुले पुनर्लेखनको माग गरिरहेका छन् ।

यस्तोबेला आयोजना गरिएको धर्मगुरुहरुको सभालाई विशेष महत्वसाथ हेरिएको छ । यहाँ आयोजना गरिएको धर्मसभामा हिन्दु धर्ममा आस्था राख्ने धार्मिक संघसंस्थामात्रै होइन, उद्योगी, व्यापारी, नागरिक समाज र राजनीतिक दलका नेता कार्यकर्ताले पनि प्रत्यक्ष–अप्रत्यक्षरुपमा सहयोग र सद्भाव राखिरहेका छन् । जसले गर्दा धर्मगुरुहरुमा थप हौसला मिलेको बताएका छन् ।