December 2, 2021, Thursday
१६ मंसिर २०७८, बिहीबार

जनप्रतिनिधिकै मिलेमतोमा नश्ल सुधारका लागि ल्याइएको बोका काटेर खाइयो

नवलपरासी– किसान र जनप्रतिनिधि मिलेर बाख्रामा नश्ल सुधारका लागि अनुदानमा दिएको बोका काटेर खाएका छन् । अनुदानमा ल्याएको बोका जनप्रतिनिधिकै मिलेमतोमा काटेर खाएपछि स्थानीयले सरकारी सम्पत्तिको हिनामिना भएको भन्दै यसबारे छानविन गरी दोषीहरुलाई कारबाही गर्न माग गरेका छन् ।

Advertisement

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले उपलब्ध गराएको झण्डै तीन लाख रुपैयाँमा किनेको बोका किसान र जनप्रतिनिधि मिलेर दशैंमा काटेर खाएका थिए । अष्ट्रेलियन बोयर जातको बोका वडा नम्बर १३ का किसानहरूका लागि स्थानीय किसान गंगाराम गैरेलाई पाल्न दिएको थियो । त्यही बोका, दशैंमा किसान र जनप्रतिनिधि मिलेर काटेका छन् ।

फाइल तस्वीर

दुई वर्ष अघि स्थानीय सरकारको ७० प्रतिशत र किसानको ३० प्रतिशत लागत रहने अनुदान कार्यक्रम अनुसार सुनवल नगरपालिकाको २ लाख ८० हजार र किसानको ७८ हजार रूपैयाँ लगानीमा बोका खरिद गरेर ल्याइएको थियो ।

बोका पाल्दै आएका गंगारामले भने बिरामी परेर नश्ल सुधारका लागि काम नलाग्ने भएपछि नगर प्रमुख भिमबहादुर थापा (भरत), नगर पशु शाखा प्रमुख मिश्रिप्रसाद खड्का र वडाध्यक्ष कृष्णप्रसाद देवकोटाको सहमतिमा काटेर मासु बेचेको जिकिर गरे । ‘बोकाको मासु ९०० रुपैयाँ प्रतिकेजीका दरले विक्री गरिएको थियो’, उनले भने ।

वडा नम्बर १३ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद देवकोटाले बोयर प्रजातिको अर्को बोका दिने शर्तमा काट्न अनुमति दिएको जनाए । ‘पटक–पटक बिरामी भएपछि नश्ल सुधारका लागि त्यती राम्रो मानिएन!, उनले भने, ‘त्यसैले अर्को ल्याउने सर्तमा काट्न दिएका हौं ।’ गंगारामकाअनुसार बोका करिब ८० केजीको थियो ।

बोका काटेर खाएपछि स्थानीय केही युवाले कारबाही गर्न माग गर्दै नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएका छन् । आफूहरुले दोषीलाई कारवाहीको माग गर्दै निवेदन दर्ता गरेको स्थानीय दीपक रानाले जनाए ।

नश्ल सुधारका लागि सरकारी अनुदानमा दिइएको बोका मासु खाने प्रयोजनका लागि आफूखुशी बध गर्न पाइँदैन । तर, यहाँ जनप्रतिनिधिले नै यसका लागि साथ दिएका छन् । लुम्बिनी प्रदेश कृषि मन्त्रालयका पशु विकास अधिकृत हुमाकान्त पाण्डेले यो विषयमा छानविन गरेर दोषीलाई कारवाही हुनुपर्ने बताए ।