November 3, 2024, Sunday
२०८१ कार्तिक १८

अरिंगालले टोकेर अर्घाखाँचीमा सात कृषक घाइते, तीनको अवस्था गम्भीर

अर्घाखाँची- अरिंगालले टोकेर अर्घाखाँचीमा सात जना कृषक घाइते भएका छन् । खेतमा धान काट्दै गर्दा उनीहरुलाइ अरिंगालले टोकेको हो । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको सितगंगा नगरपालिका–२, वाणगंगा खोला नजिकै खेतमा धान काट्दै गर्दा आइतबार दिउँसो सातैजनालाइ कालो अरिंगालले टोकेको स्थानीयले बताएका छन् ।

Advertisement

अरिंगालले टोकेर सीतापुर झिर्रा गाउँका २१ वर्षीय किरण क्षेत्री, २४ वर्षीया सञ्जु क्षेत्री र १६ वर्षीया करिना क्षेत्री गम्भरी घाइते भएका छन् । उनीहहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ । सोही गाउँका अरु चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जनाए ।

धान कटिरहेको बेला खेतको आलीमा लुकेर बसेको अरिंगालले उनीहरुलाई टोकेको थियो। घटनापछि आलीमा हेर्दा अरिंगालको गोलो देखिएको स्थानीयहरुले बताएका छन् । धान काट्दै गर्दा गोलो हल्लिएपछि अरिंगालले कृषकलाई आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।