October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

मोतीपुर प्रकरण : थप उपचारका लागि चार प्रहरीलाई हेलिकोप्टरमार्फत् काठमाडौं लगियो

भैरहवा– रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा झडपमा गम्भीर घाइते चार प्रहरीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । आइतबार औद्योगिक क्षेत्रको जग्गा हडप्न खोज्ने समूह र प्रहरीबीच झडप भएको थियो । घाइते प्रहरीरुलाई एअर डाइनास्टीको हेलिकोप्टरमार्फत् काठमाडौँ लगिएको हो । उनीहरुको एपीएफ अस्पताल काठमाडौँमा उपचार सुरु भएको छ ।

रुपन्देही प्रशासनका अनुसार घाइते इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षका प्रहरी जवान जयप्रकाश थारु र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान ज्ञयराज पुन मगरलाई काठमाडौं लगिएको हो । यस्तै, सशस्त्र प्रहरी बल नम्बर २८ गण कपिलबस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षका जवान खुसीराम चौधरीलाई पनि काठमाडौँ पठाइएको छ ।

झडपमा परी नेपाल प्रहरीका ३३ र सशस्त्र प्रहरीका २३ जना गरी ५६ जना सुरक्षाकर्मी घाइते भएकामा गम्भीर घाइते ७ जना प्रहरीको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचाररत रहेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

घाइते भएका अन्य प्रहरी भने उपचार पछि डिस्चार्ज भएका छन् । सशस्त्र प्रहरीमध्ये काठमाडौं रिफर गरिएका दुई जनावाहेक अरु सबै उपचार पछि डिस्चार्ज भएका छन् । औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर चार जना सर्वसाधरणको मृत्यु भएको थियो ।

औद्योगिक क्षेत्रको जग्गामा सुकुमबासीका नाममा टहरा बनाउने समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो । झडपमा परी १८ जना स्थानीय घाइते भएको जनाइएको थियो । स्थिति नियन्त्रण बाहिर जान नदिन प्रशासनले अर्को सूचना नभएसम्मका लागि मोतिपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।