October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

मोतीपुर औद्योगिक क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

भैरहवा– रुपन्देहीको निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्र आसपासमा प्रशासनले कर्फ्यु लगाएको छ । रुपन्देही प्रशासनले आइतबार दिउँसो चार बजेदेखि अर्को सूचना जारी नहुँदासम्म अनिश्चितकालीन कर्फ्यु जारी गरेको हो ।

जग्गा कब्जा गर्न बसेका स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा यहाँ आइतबार दिउँसो गोली चलेको थियो । गोली लागेर ५ जना स्थानीय घाइते भएको बताइएको छ । दुबैपक्षको झडमा सुरक्षाकर्मीसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको बुटवलका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्थानीय र प्रहरीबीच झडप हुँदा मोतीपुर क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो । स्थिति थप जटिल हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।

शान्ति सुरक्षालाई मजबुत बनाउन भन्दै प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यु आदेश जारी गरेको छ । निर्माणाधीन औद्योगिक क्षेत्रको बुटवल उपमहानगरपालिका १७ र १८ नम्बर वडामा कर्फ्यु जारी भएको प्रशासन कार्यालयले जनाएको छ ।