March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

झाडापखलाको महामारी फैलिएको कृष्णनगरको पानीमा कोलिफर्म ब्याक्टेरिया भेटियो

कपिलवस्तु– कृष्णनगर नगरपालिकाको झाडापखाला प्रभावित क्षेत्रको पानीमा कोलिफर्म ब्याक्टेरिया फेला परेको छ । पानी परीक्षणको रिपोर्टमा अत्याधिक मात्रामा कोलिफर्म ब्याक्टेरिया पाइएको हो ।

Advertisement

शिवराज अस्पताल, कपिलवस्तुका निमित्त सुपरिटेण्डेन्ट डा. मुकेश चौधरीले संघीय प्रयोगशाला बुटवलमा पानी परीक्षण गर्दा अत्याधिक मात्रामा कोलिफर्म ब्याक्टेरिया फेला परेको पुष्टि गरे । ‘कोलिफर्म ब्याक्टेरिया दिशामा पाइने जीवाणु हो । पानीमा कसरी दिशाका जीवाणु मिश्रण भयो भन्ने यकिन भइनसकेको छैन’, डा. चौधरीले भने ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले पनि केही नमुनामा कोलिफर्म ब्याक्टेरिया फेला परेको पुष्टि गरे । ‘तर झाडापखाला फैलिनुको अन्य पनि कारण हुन सक्छन्’, उनले भने, ‘आवश्यक अनुसन्धानका लागि थप नमुनाको परीक्षण भइरहेको छ ।’

स्वास्थ्य कार्यालय कपिलवस्तुले नेपाल खानेपानी संस्थान बहादुरगञ्ज शाखाबाट वितरण गरेको धारा, ४० फिटभन्दा माथि र सय फिटभन्दा कममा गाडेको हाते पम्पको पानीबाट नमुना लिएको थियो । तीमध्ये सय फिटको पम्पमा जीवाणु फेला भने परेन । रिपोर्टको पूर्ण विवरण आइनसकेको स्वास्थ्य कार्यालयले बताएको छ ।

कपिलवस्तुको कृष्णनगरका तीनवटा वडाका करिब पाँच सय जनामा झाडापखाला भएको छ । यसमध्ये अधिकांश डिस्चार्ज भएका छन् । ३४ जनालाई अन्यत्र रेफर गरिएको छ भने र करिब एक सय जनाको उपचार जारी छ । स्वास्थ्य कार्यालयले झाडा पखाला प्रभावित वडाका बासिन्दालाई राम्ररी उमालेर सफा पानी मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

झाडापखालाबाट कृष्णनगरमा मंगलबार दुई जनाले ज्यान गुमाएका थिए । नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा मंगलबार रातिदेखि झाडापखाला फैलिएको थियो । झाडापखालाबाट वडा नम्बर ९ का ४५ वर्षीय रामप्रसाद केवटको घरमै र वडा नम्बर ८ का ७ वर्षीय बालक राज कश्यपको निजी मेडिकलमा मृत्यु भएको थियो ।