March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

परिवार नियोजन गर्ने पुरुष कम

भैरहवा– लुम्बिनी प्रदेशमा परिवार नियोजन गर्नेमा पुरुषको संख्या कम पाइएको छ । परिवार नियोजन र प्रजननको जिम्मा महिलाको काँधमा छ । यस प्रदेशमा आर्थिक वर्ष ०७७–७८ मा १ हजार ७ सय २४ जनाले स्थायी परिवार नियोजन गरेका छन् ।

Advertisement

त्यसमध्ये १ हजार ४ सय ८९ जना महिलाले मिनील्याप गरेको देखिन्छ । मिनिल्याप महिलाले गर्ने परिवार नियोजनको अस्थाई विधि हो । प्रदेशका २ सय ३५ पुरुषले भ्यासेक्टोमी गरेको पाइएको छ । प्रदेशका जिल्ला मध्ये रूपन्देहीमा १ सय ४४ महिलाले स्थायी नियोजन गर्दा १३ पुरुषले मात्र गरेको देखिन्छ ।

Advertisement

बर्दियामा ३ सय ४४ महिलाले परिवार नियोजन गरेका थिए । त्यहाँ पुरुष १५ ले मात्र स्थायी परिवार नियोजन गरेका छन् । दाङमा ९६ महिलाले बन्ध्याकरण गर्दा पुरुष जम्मा ९ जना भेटिएका छन् । प्यूठानमा ६२ महिलाले स्थायी परिवार नियोजन गर्दा पुरुष १३ जनाले मात्रै गरेका छन् ।

पुरुषका लागि अस्थायी नियोजनको साधन कण्डम हो । स्थायी परिवार नियोजनका लागि पुरुषले भ्यासेक्टोमी गर्नुपर्छ । भ्यासेक्टोमी सरल विधि भएको र यसबाट नकारात्मक असर पर्दैन । कमजोर भइने, पुरुषत्व गुम्ने र यौन सन्तुष्टि नमिल्ने भ्रमका कारण पुरुषहरूलाई परिवार नियोजनतर्फ आकर्षित गर्न नसकिएको लुम्बिनी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद गिरीले बताए ।

परिवार नियोजन गर्नेमा पहाडमा पुरुष धेरै देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६–७७ मा १० लाख १ हजार ८ सय ६ महिलाले मिनील्याप गर्दा ३ लाख १६ हजार २ सय ६७ पुरुषले मात्रै भ्यासेक्टोमी गराएका थिए ।