रूपन्देहीमा चाडपर्व लक्षित सुरक्षा योजना : ९४४ प्रहरी परिचालन


भैरहवा– रुपन्देही प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । चोकचोकमा प्रहरी परिचालन गरिएको छ । भित्री सडक तथा गल्लीहरु र मुख्य राजमार्गमा कडाई गरिने सुरक्षा योजनामा उल्लेख छ । यस्तै, सीक्षा सुरक्षामा थप कडाई गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।
‘आउँदै गरेको हिन्दुहरुको महान चाड बडा दशैं, शुभ दिपावली र छठ पर्व–२०७८ लाई मध्यनजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनका लागि योजना अघि सारेका छौं’, उनले भने, ‘चाडपर्व अबधिमा जिल्लाभर ९४४ जना प्रहरी परिचालन गरी विशेष सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याएका छौं ।’
उनकाअनुसार कोरोना भाइरस, चाडपर्वमा हुन सक्ने बिसंगति, विकृतिविरुद्ध प्रहरी परिचालन गरिने छ । यस्तै, सीमा एरियामा कडा चेकजाँचको व्यवस्था गरी तस्करीलाई सख्त कारवाही गर्ने थापाले बताए । ‘प्रत्येक प्रहरी इकाईमा प्रहरी टोली क्यूआरटीका रुपमा राखी परिचालन गर्ने व्यवस्था मिलाइएको छ’, उनले भने, ‘चाडपर्वका समयमा बढी पटका, आतसबाजीको प्रयोग हुने भएकाले सो हुन गर्न नदिन र गर्नेलाई पक्राउ गरी कारवाही गर्ने योजनालाई थप कडाइ गरिएको छ ।’
सबै खाले जुवाजन्य खेलहरू, चन्दालगायतका गतिविधिहरूको सूचना संकलन गरी प्रहरी परिचालन गर्ने, हाई–वेहरूमा रात्रीको समयमा सवारी गस्ती गरिने जनाइएको छ । यस्तै, बन्द रहने सरकारी कार्यालय, तथा संघ–सस्थाका सुरक्षा गार्ड, कार्यालय सहयोगीहरुसँग समन्वयसहितको सुरक्षा व्यबस्था मिलाउने डीएसपी थापाले बताए ।
‘विगतमा आ–आफ्ना एरियामा घटेका घटनाहरूलाई मध्यनजर राखी पैदल, साइकल, मोटरसाइकल र गाडी गस्ती परिचालन गर्ने छौं’, उनले भने । बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुहरुलाई सुरक्षित यात्राको प्रत्याभूति दिने प्रहरीले योजना बनाएको छ । चार्डपर्वका समयमा बढी भिडभाड हुने बजार, हाटबजारहरुमा पैदल गस्ती, मोवाइल गस्ती बिभिन्न प्रकारका अपराधिक क्रियाकलापहरुविरुद्ध प्रहरी परिचालन गर्ने थापाले बताए ।
प्रतिकृया दिनुहोस्