March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

प्रहरी किन कब्जा गर्छ सडक ?

भैरहवा– लुम्बिनी प्रदेशका उच्च प्रहरी अधिकृतको उपस्थितिमा गएको भदौ चार गते रुपन्देहीको बेलहियामा प्रहरी चेक पोष्टको उद्घाटन भयो । बेलहिया–बुटवल व्यापारिक मार्गको सर्भिस लेनभन्दा अगाडि (डिभाइडर) मा पोष्ट निर्माण गरिएको छ ।

Advertisement

सडक डिभाइडर माथि नै चेकपोष्ट राख्दा प्रहरीले कहीँकतैबाट अनुमति लिएन । यसरी नै जिल्लाका अधिकांश मुख्य सडकमा प्रहरी चेकिङका बोर्ड राखि ठूलो सडकलाई साँघुरो बनाइएको छ । एक हिसाबले भन्ने हो भने प्रहरीले राजमार्ग र भित्री सडकमा कयौं ठाउँ सडक नै कब्जा गरेको छ ।

Advertisement

बेलहियाबाट पाँच सय मिटर भैरहवातर्फ आइनपुग्दै सशस्त्र प्रहरीले बीच बाटोमै ड्रम तेस्र्याएर बाटोको चौडाइ सानो बनाएको छ । केही ठाउँमा प्रहरीले मुख्य राजमार्गलाई पार्किङस्थल बनाएको छ । जहाँ दुर्घटना भएका सवारीसाधन तथा कारवाहीमा परेका सवारीलाई राख्ने गरिएको छ । ठाउँठाउँमा सडक अतिक्रमण गरि संरचना निर्माण भएका छन् ।

भैरहवाको अंचलपुरमा प्रहरीले हप्तौदेखि दुर्घटना भएका सवारी सडकमै पार्किङ गरेर राखेको छ । यहाँ चेक प्वाइन्टको नाममा आधा सडक अवरुद्ध हुने गरी सामग्री राखिएको छ । अंचलपुरमै डिभाइडरमा प्रहरी बीट बनाइएको छ । यहाँ सडकले यात्रुका लागि बनाएको प्रतिक्षालय बेकामे बनेको छ । प्रहरीले पार्किङमा राख्ने सवारीले गर्दा प्रतिक्षालय प्रयोगविहीन बनेको छ । यस्तो समस्या जिल्लाका मुख्य–ठूला सबै सडकमा छ ।

छिमेकी जिल्लाहरु पश्चिम नवलपरासी, कपिलवस्तुमा पनि यो समस्या छ । दाङको भालुवाङमा ३ सय मिटरको दूरीमा सशस्त्र र नेपाल प्रहरीका चेक प्वाइन्ट छन् । एउटा गाडी चेक प्वाइन्टबाट क्रस हुन पनि हम्मे–हम्मे हुने गरी अवरुद्ध गरिएको छ । यो समस्या लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा छ । रुपन्देहीमा मात्रै दर्जनौं स्थानमा प्रहरीले फराकिलो सडकलाई साँघुरो हुने गरी चेक प्वाइन्ट राख्दै आएको छ ।

‘मुख्यमात्रै होइन्, भित्री सडकमा समेत प्रहरीले छेकाबार लगाउने गरेको छ’, भैरहवाका स्थानीय लोकनाथ ज्ञवालीले भने, ‘सुरक्षाका नाममा प्रहरीले अनावश्यक ठाउँमा समेत सडक अवरोध गरेर रोकावट गर्दा जोखिम बढेको छ ।’ उनले प्रहरीको छेकावारकै कारण यसअघि आफू झण्डै दुर्घटनामा परेको बताए ।

सडक सबैका लागि हो । सडकमा सहज रुपमा हिँडडुल र यातायातका साधन सञ्चालन गर्न पाइन्छ । तर, राजमार्ग, हुलाकी मार्ग तथा भित्री सडकमा प्रहरीले बारबन्देज गरेर यातायात असहज बनाएको छ । प्रहरीले एकातिर मापदण्डविपरीत सडकमा व्यवधान खडा गरेको छ भने अर्कातिर सडक अतिक्रमण गरेर भौतिक संरचना निर्माण गरेको छ ।

सडक मापदण्ड अन्तर्गत कुनै निकायले सडक अतिक्रमण तथा सडकमा कुनै व्यवधान खडा गर्न पाइँदैन । सडक विभागको अनुमति बिनै सडक अतिक्रमण गरेर संरचना बनेका छन् । सार्वजनिक सडक ऐन, २०३१ अनुसार ‘सडकमा कुनै पनि निकायले अवरोध या भौतिक संरचना निर्माण गर्न र राख्न पाउँदैन ।’ तर, लुम्बिनी प्रदेशका सबैजसो जिल्लामा नियामक निकाय प्रहरीले नै यो ऐन उल्घंन गरेको छ ।

के प्रहरीलाई सडक अतिक्रमण तथा राजमार्गमा छेकाबार लगाउने अधिकार छ त ? सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनी भन्छन्, ‘त्यसरी छेकबार गर्न पाइँदैन । तर, सुरक्षाका दृष्टिले व्यवहारिकरुपमा कहीकतै चेक प्वाइन्ट राखिएको हुनसक्छ ।’

‘जसको शक्ति उसैको भक्ति’ भने जस्तै सडक सुरक्षाका लागि बसेका प्रहरीले मापदण्ड विपरीतका कार्य गर्दासमेत नियमन निकाय मौन छ । ठूला राजमार्गलाई चाहिँदो मात्रामा नअटाउने गरि साँघुरो बनाउँदा बेलाबखत दुर्घटनासमेत हुने गरेको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रमुख एसपी योगेन्द्रसिंह थापालले नागरिकको जिउधनको सुरक्षाका लागि सडकमा चेक प्वाइन्ट राखेर चेकजाँच गर्ने गरिएको बताए ।