January 25, 2025, Saturday
२०८१ माघ १३

लुम्बिनीमा शाकाहारी भोजन दान

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा शाकाहारी खाना अभियान सुरु भएको छ । लुम्बिनीस्थित राजकीय थाई बिहार परिसरमा बिहीबारबाट निःशुल्क शाकाहारी खाना खुवाउन सुरु गरिएको हो । विश्व प्रकाश प्रतिष्ठान, काठमाडौंले थाई विहारसँगको सहकार्यमा यहाँ निःशुल्क भोजन गराइरहेको प्रष्ठिानका केन्द्रिय सचिव विनोदकाजी तुलाधरले जानकारी दिए ।

प्रष्ठिानकाअनुसार पाँच दिनसम्म यहाँ शाकाहारी खाना खुवाइने छ । ‘हामीले आगन्तुक, भन्ते, कोषका कर्मचारीलाई निःशुल्क भोजनदान गराइरहेका छौं’, तुलाधरले भने, ‘लुम्बिनी घुम्न आउनेहरुले पनि यहाँ आएर खाना खान सक्नुहुन्छ ।’ बिहीबारदेखि यहाँ पाँच दिवसीय निःशुल्क भोजनदान भइरहेको छ ।

Advertisement

‘भोजन मानिसको जीवनसँग अन्तरसम्बन्धित छ । हामीले जस्तो खान्छौं, त्यस्तै हुन्छौं’, तुलाधरले भने, ‘सोंचको शुद्धताका लागि पनि शाकाहारी भोजनले सहयोग गर्छ, यसैले शाकाहारी भोजनदान गराउन सुरु गरेका हौं ।’ उनले लुम्बिनी क्षेत्रमा शाकाहारी खानालाई प्रमोसन गर्न सकिए बुद्ध जीवनीले सार्थकता पाउने बताए ।

प्रष्ठिानकी कोषाध्यक्ष मिन्मिरा लामाले आध्यात्म र नैतिक शिक्षालाई ध्यानमा राखेर संस्थाले काम गर्दै आएको बताइन् । लुम्बिनी क्षेत्रमा शाकाहारी खानालाई प्राथमिकता दिए यसले विश्वमाझ सकारात्मक सन्देश प्रवाह हुने उनले जनाइन् । ‘बुद्धले शान्ति र अहिंसामा जोड दिनुभएको छ’, उनले भनिन्, ‘यस्तो ठाउँमा मांशहारी होइन्, सधै शाकाहारी खाना खाने बानी बसाल्नुपर्छ ।’

यहाँ पाँचै दिनसम्म फरक–फरक शाकाहारी भोजन गराइने छ । ‘पाँच दिनमा कम्तिमा ५० थरि शाकाहारी खाना खुवाउने योजना बनाएका छौं’, तुलाधरले भने । दाल, भात, मकै, रोटी, चाउमिन तथा आलु, ब्रोकाउली, काउली, च्याउ, पालक, बन्दागोभी, केराउ, भिन्डी, साग लगायतको तरकारी, चुकन्दर, काँक्रा, मूला, गाँजर, पापड, अचार लगायत थाई एवं नेपाली खानाहरु भोजनमा समावेश गरिएको छ ।

‘हामीले प्याज र लसून समेत नराखी खाना बनाएर भोजन गराइरहेका छौं’, तुलाधरले भने । साग पात तथा त्यसका परिकार र दूध, दूधबाट बनेका परिकारहरु खानेलाई शाकाहारी भनिन्छ । यसले शरिरलाई मांसाहरी भन्दा कम रोग लाग्ने चिकित्सक बताउँछन् । संस्थाले २०७१ सालमा स्थापना भएयता आध्यात्म र नैतिक शिक्षाका क्षेत्रमा काम गर्दै आइरहेको छ ।