न्याय खोज्दै पाँच दिनदेखि पैदलयात्रा


भैरहवा– न्याय कसले दिन्छ ? जवाफ सजिलो छ– राज्यले । तर, हाम्रो मुलुकमा नागरिकले राज्यबाट सहजै न्याय पाउँदैनन् । न्यायका लागि आन्दोलन नै गर्नुपर्छ । चक्काजाम, तोडफोड । कयौं यस्ता उदाहरण छन्, जहाँ न्याय माग्दामाग्दै उसैको मृत्यु भएको छ । न्याय नपाएपछि अधिकारकर्मी र पीडित परिवार पैदल यात्रामा निस्किएका छन् ।
लुम्बिनी प्रदेशको मुकाम बुटवलमा आएर धर्ना दिने र काठमाडौंसम्म पुुगेर प्रधानमन्त्रीसमक्ष न्याय माग्ने योजना उनीहरुको छ । गत साउन ६ गते बाँकेको जानकी गाउँपालिका–२, नेवाजीकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु भएको थियो । यसको सत्यतथ्य छानविन भएको छैन । यस्तै, गत वर्षदेखि हराइरहेकी नेपालगञ्ज परस्पुरकी निर्मला कुर्मीको अवस्थाबारे प्रहरीले खोजबिन नगरेको भन्दै पीडित परिवार र अधिकारकर्मीहरुसहित १३ जनाको टोली असोज १ गतेदेखि पैदलयात्रामा छन् ।
नेपागञ्जदेखि काठमाडौंसम्मको पैदलयात्रामा उनीहरु निस्किएका हुन् । उनीहरुले पैदलयात्रा शुरु गरेको आज पाँचौ दिन भएको छ । यी दुई घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग पैदलयात्रामा निस्किएकाहरुको छ ।
पैदलयात्रामा निस्किएको टोली सोमबार दाङ आइपुगेको छ । नागरिकले न्यायका लागि यति लामो दूरीमा कठोर यात्रा गर्नु परेको भन्दै सबैले सरकारको चौतर्फी आलोचना गरिरहेका छन् । यसअघि मृतकका आफन्त र राष्ट्रिय महिला अधिकार मञ्च बाँके इन्चार्ज रुबी खान लगायतले १९ दिनसम्म जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएका थिए । तर, निरन्तरको धर्ना र दबाबका बाबजुद पनि घटनाको छानबिनका लागि प्रहरीले सक्रियता नदेखाएपछि दबाब स्वरुप पैदलयात्रा गरेको उनीहरुको भनाई छ ।
उनीहरुले बुटवलस्थित लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको कार्यालयमा तीन दिनदेखि ५ दिनसम्म धर्ना दिने योजना बनाएका छन् । काठमाडौं आएपछि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको राष्ट्रिय महिला अधिकार मञ्च बाँके इन्चार्ज रुबी खानले जानकारी दिइन् ।
‘गम्भीर घटनामा पनि अनुसन्धान भएन’, उनले भनिन्, ‘बाध्य भएर पीडित परिवारलाई साथ दिएर हामी पैदलयात्रामा निस्किएका हौं ।’ ‘महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरु होशियार, मौन बस्ने सरकार खबरदार’ नारासहित उनीहरु पैदलयात्रामा सहभागी छन् ।
प्रतिकृया दिनुहोस्