March 18, 2025, Tuesday
२०८१ चैत्र ५

बुटवल उपमहानगर प्रमुख सुवेदीमाथि मुक्का प्रहार

बुटवल– पहिरो प्रभावितलाई बेवास्ता गरेको भन्दै स्थानीयले रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गरेका छन् ।

बुटवलको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा यसअघि चुरे क्षेत्रबाट पहिरो खसेको थियो । पहिरोले दर्जनौं घरमा क्षति पुगेको थियो । प्रभावित क्षेत्रका स्थानीयले राहत र पुनःस्थापनाका कार्यक्रम अघि सार्न स्थानीय सरकारसँग माग गर्दै आएका थिए ।

Advertisement

तर, उपमहानगरले प्रभावकारी काम नगरेको भन्दै प्रमुख सुवेदीमाथि स्थानीय जाई लागेका हुन् । सोमबार प्रभावित क्षेत्रको अवलोकनमा गएका उपमहानगर प्रमुख सुवेदीलाई एक स्थानीयले मुक्का हानेको प्रत्यक्षदर्शीले बताए । नगर प्रहरीले ती स्थानीयलाई नियन्त्रणमा लिएका थिए ।

स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै विगतदेखि नै आक्रोश पोख्दै आएका छन् । केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा यहाँ ठूलो क्षति गरेको छ । आज पनि यहाँ चुरेबाट पहिरो खस्दा कयौं घरमा क्षति पुगेको छ । तस्बीर : सामाजिक संजाल