बँदेललाई थापेको विद्युतीय पासोमा पर्दा बर्दियामा एकै परिवारका तीनको मृत्यु


बर्दिया– जंगली जनावरलाई थापेको पासोमा परेर बर्दियामा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
पासोमा परेर बर्दियाको ठाकुरबाबा नगरपालिका–३ गोदानाका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बँदेललाई थापेको विद्युतीय पासोमा परेर तीनै जनाको ज्यान गएको जानकारी दिए । शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरु छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेका थिए ।
एसपी कार्कीका अनुसार खेतमा विद्युतीय पासो थाप्ने छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय भुरिगाउँमा राखिएको एसपी कार्कीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी कार्कीले बताए ।
प्रतिकृया दिनुहोस्